बाँके\जारी अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह खतराको चिन्ह भन्दा माथी पुगेको छ । कुसुम स्थित बाढी मापन केन्द्रमा बुधबार बेलुका ७ बजेको रेकर्ड अनुसार राप्ती नदीको सतह ६.६२ मिटर पुगेको छ ।
जबकी पानीको सतह ५.४० मिटर पुगेपछि डुबान हुने खतरा हुन्छ । आज बेलुका साढे ५ बजेको रेकर्ड अनुसार पानीको सतह ६.३० मिटर कायम रहेको थियोे ।जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेले दिएको जानकारी अनुसार राप्ती नदीमा पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ ।
कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर ८ सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । त्यसपछि राप्ती नदीको तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सर्तक गराइन्छ । भारतले अन्तराष्ट्रिय कानुन विपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठूलो बाढी आउने बित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन । बाढीका कारण हजारौं बिघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ ।











