१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि अहिल्यै मिति घोषणा गर्‍यौं : खेलकुदमन्त्री गहतराज
  • न्युज मानसराेवर

पोखरा \युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिले नै मिति घोषणा गरिएको बताएका छन् ।पोखरामा शुक्रवार साँझ पत्रकारहरूसँगको भेटघाटमा उनले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद विगतमा जस्तो लामो समयसम्म नहुने अवस्था अब नआउने उल्लेख गरे ।

हरेक २ वर्षमा हुने प्रतियोगिता नियमित सञ्चालन हुने उनको भनाइ छ ।

मन्त्री गहतराजले भने, ‘हामीले दशौं राष्ट्रिय खेलकुदको मिति अहिले नै तय गरेका छौं । कर्णालीमा २ वर्षभित्रमा मात्र भनेका छैनौं, विक्रम संवत् २०८१ मंसिर २ देखि ९ गतेसम्म मिति अहिले नै घोषणा गर्दा यसको तयारीमा समेत सहयोग पुग्नेछ, प्रतियोगिताको सुनिश्चितता हुन्छ ।’

खेलकुदमन्त्री गहतराजले पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद मौसमको प्रतिकूलता, चाडपर्वहरूका बीच र सार्वजनिक खरिदका केही प्रावधानका कारण चुनौती रहे पनि चुनौतीका बीचमा पनि सफल भएको बताए ।

नवौं राष्ट्रिय खेलकुद आयोजनाले अन्तर्राष्ट्रिय मान्यता समेत पाइसकेकाले राष्ट्रिय टोली निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताका लागि सहज बनेको उनको भनाइ छ । पोखरामा ७ दिनसम्म चलेको भव्य प्रतियोगिता सफल पार्न सहयोग गर्ने सञ्चारजगत लगायत सबै गण्डकी प्रदेशवासीलाई समेत उनले आभार व्यक्त गरेका छन् ।

  • ५ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech