१२ बैशाख २०८१, बुधबार

आज छठ समापन गरिँदै
  • न्युज मानसराेवर

जनकपुरधाम\चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिएको छ । चारदिवसीय छठ पर्वको आज अन्तिम दिन उदाउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित अर्घ्य अर्पण गरी छठको बिदाई गरिएको हो ।

व्रतालुहरूले प्रत्येक वर्ष कात्तिक र चैत महिनाको शुक्ल षष्टी तिथिका दिन जलाशयको किनारमा भगवान् सूर्यदेव र षष्टी देवीलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाइने गरिन्छ । आधा शरीर पानीमा डुबाएर सूर्यदेव भगवान् र षष्टी माताको आराधना गरिन्छ ।

जनकपुरधामको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जासहितका पोखरीलाई दुलही झैं सिंगारिएको थियो । छठ प्राय: हरेक परिवारले मनाउने गरिएकाले गाउँदेखि शहरसम्म फरक उल्लास हुन्छ ।

दुःख चिन्ताबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जनविश्वासका साथ छठ पर्व मनाउने गरिन्छ । करिब ३६ घण्टासम्म निराहार रही गरिने यस व्रतलाई कठोर निष्ठा, आस्था र पवित्रताको पर्वको रूपमा स्थापित भएको छ ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । विगतमा मधेसमा मात्र सीमित छठ पछिल्लो समयमा काठमाडौं लगायतका केही पहाडी जिल्लामा समेत उल्लासका साथ मनाउन थालिएसँगै यो पर्वले सामाजिक सद्भाव तथा जातीय विविधताबीच एकतामा सेतुको काम गरेको छ ।

विगतमा अस्ताउँदो सूर्यको अर्घ्य दिएर व्रतालुहरू घर जाने गर्थे । तर, पछिल्ला केही वर्षयता घाटमै बस्ने गरेकाले गाउँदेखि सहरसम्म छठको विशेष रमझम देखिन थालेको छ ।

३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ्य दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ ।

विनाभेदभाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको सेतु साबित भएको छ ।

  • १४ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech