३० असार २०८१, शनिबार

सरकारले बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने
  • न्युज मानसराेवर

बाँके\सरकारले तोकेको भन्दा ८ सय रुपियाँ कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका बाँकेका किसानलाई ढिलै भए पनि केही राहत हुने भएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने भएपछि किसानलाई राहत हुने भएको हो ।

कार्यालयले मोटा धान पाँच हजार क्विन्टल खरिद गर्नेछ भने २० हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी परिपत्र आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले जानकारी गराएका छन। लामिछानेले केन्द्रबाट ढिलो गरी परिपत्र आएकोले अब केही दिनबाटै धान खरिद सुरु गरिने उल्लेख गरे ।

सरकारले आर्थिक वर्ष २०७९\८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपियाँ तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपियाँ तोकेको छ।तर किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुवै धानमा करिब ८ सय रुपियाँ क्विन्टल कम मूल्यमा धान बिक्री गर्दै आएका थिए ।

सरकारले तोकेको समर्थन मूल्य अनुसार नै धान खरिद गर्ने खाद्य व्यवस्था कार्यालयका प्रमुख लामिछानेले बताए । धान खरिदमा ढिलाइ गरिँदा मूल्य नपाएपछि अखिल नेपाल किसान सङ्घ बाँकेका अध्यक्ष कृष्ण विक्रम केसी र नेपाल किसान सङ्घका केन्द्रीय सदस्य धनमाया लुइँटेल रिचाले संयुक्त रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगी किसानको धान छिटो खरिद गर्न ज्ञापन पत्र बुझाइएको
छ ।

गत वर्ष कम्पनीले २३ सय क्विन्टल मात्र धान खरिद गरेको थियो । तर यस वर्ष भने २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएको छ । अहिले खरिद गर्न लागेको धान पनि ५ प्रतिशत किसानलाई नसमेट्ने हुँदा थप धान खरिद गर्न पर्नेमा किसानहरूको माग छ ।

बैजनाथ गाउँपालिका वडा न ५ का   किसान दीपेन्द्र चौधरीले एकदमै ढिला गरी धान खरिद गर्ने निर्णय गरिएको र त्यसमा पनि विभिन्न बाधा अवरोध कायम गरिने हुँदा किसानको बिचल्ली हुने गुनासो गरे । हाल खाद्य व्यवस्था कार्यालयमा रहेका ३ गोदाममध्ये एक गोदाममा पुरानो चामल छ । गोदाम खाली गर्ने काममा लागेको कार्यालय प्रमुख लामिछानेले बताएका छन।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech