५ फाल्गुन २०८१, सोमबार

हप्तामा पाँच दिन उडान हुनेभएपछि दाङका नागरिक उत्साहित
  • रासस

बाँके\दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुनेभएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुनेगरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदैआएको थियो । उडान थप भएपछि यहाँका नागरिक उत्साहित भएका छन् ।

पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्नेगरेको उनले बताइन् । हवाई इन्धन डिपोबाट इन्धन रिफ्युल गर्न थालेपछि उडान पनि थप गरिएको उनले बताइन् । “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न शुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ”, उनले भनिन्, “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।” यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्नेगरी तयारी गरिएको उनले जानकारी दिइन् ।

साथै निजी हवाई सेवासँग पनि समन्वय गर्नेगरी तयारी रहेको उनको भनाइ छ । “नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौँ”, उनले थपिन्, “त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।” केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको छ । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।

कुनै समय दैनिक दुई वटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ । विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको उपप्रमुख चौधरीले बताइन् । “इञ्जीनियर आएर डीपीआरका लागि सबै हेरेर गइसकेको छ”, उनले बताइन् । विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ ।

  • ३ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech