१२ बैशाख २०८१, बुधबार

बाँकेमा राष्ट्रिय थारु सम्मेलनको तयारी तीव्र
  • न्युज मानसराेवर

बाँके\राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा गर्न लागिएको सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । तयारीको बारेमा जानकारी दिन भर्चुअल बैठक गरिएको साहित्यकार सोमप्रसाद चौधरीले बताए ।

थारु गोचाली समाज फत्तेपुरको सहकार्यमा थारु लेखक संघ नेपालले २०, २१ र २२ माघमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । राष्ट्रिय सम्मेलनको लागि सह–आयोजक थारु गोचाली समाजले तयारी तीव्र पारेको अध्यक्ष देखलाल थारुले बताए । उनले सम्मेलन नजिकिएसँगै बैठक, छलफल र आवश्यक संरचना निर्माणमा जोड दिएको बताए ।

सम्मेलन सफल बनाउन तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाड गरिएको उनले बताए । थारु लेखक संघका सदस्य शेखर दहितको संयोजकत्वमा प्रस्तावना लेखन तयारी समिति, गोविन्द दहित चौधरीको संयोजकत्वमा ब्यवस्थापन समिति, सोमनाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिति, कालुराम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिति, सुन्दरलाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिति र सुनिता थारुको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले बताए ।

सम्मेलनमा झापा–कञ्चनपुरका थारु साहित्यकारले सहभागिता जनाउने दावी गरिएको छ । सम्मेलनमा विभिन्न विधाका साहित्य वाचन हुने रहने थारु लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा जंग्रार साहित्यक बखेरीका अध्यक्ष सोमप्रसाद चौधरीले जानकारी दिए । ‘जिल्ला तथा स्थानीय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर ब्यापक बहस, प्यानल छलफल पनि हुने छ,’ उनले भने ।

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा समग्र बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा, नयाँ जनप्रतिनिधिहरुको कामको प्राथमिकता लगायत विषय पनि उठान गरिने उनको भनाई छ ।

थारु लेखक संघ नेपालले प्रत्येक वर्ष फरक–फरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको छ । ०७३ सालमा दाङको घोराहीमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरिएको थियो । दोस्रो सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बाँसगढी, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौँ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा र छैठौँ सम्मेलन कञ्चनपुरको सिंहपुरमा भएको थियो ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech