१४ बैशाख २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री आचार्यको घरलाई संग्रहालय बनाइने
  • न्युज मानसराेवर

बाँके\पूर्वप्रधानमन्त्री स्व.टंकप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई संग्रहालय बनाइने भएको छ। नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका उनको करिब १ सय वर्ष पुरानो जीर्ण घरलाई संग्रहालय बनाउन लागिएको हो।

लुम्बिनी प्रदेश सरकारको ५० लाखको लगानीमा संग्रहालय बनाउने योजना अघि बढाइएको हो। ‘घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ। उस्तै नयाँ घर बनाएर संग्रहालयमा परिणत गर्ने योजना छ’, टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले भने।

जीर्ण बनेको उक्त घरलाई ०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए। ‘तीन दशकदेखि घरको संरक्षणको माग गरिँदै आएको छ,’ चौधरीले भने। आचार्यको घर परासीको गौरव भएकाले संग्रहालयका रूपमा परिणत गर्ने योजना अघि बढाइएको उनको भनाइ छ।

प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पुरातत्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिए। आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने उनले बताए।

१९६९ सालमा जन्मेका आचार्य २०१२ सालमा प्रधानमन्त्री बनेका थिए। ०४५ सालमा उनको निधन भएको हो।

  • ३० पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech