६ जेष्ठ २०८१, आईतवार

सरकारले ६ महिनामा उठायो ५६ अर्ब ४६ करोड ऋण
  • न्युज मानसराेवर

बाँके\ सरकारले चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा ५६ अर्ब ४६ करोड ऋण उठाएको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन्।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको हो।

चालु आवमा सरकारले २ खर्ब ५६ अर्ब बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो। जसबाट वार्षिक बजेटको १४.३ प्रतिशत स्रोत व्यहोर्ने सरकारको योजना छ। तर ६ महिना बित्दासमेत जम्मा ३० अर्ब बराबर मात्रै आन्तरिक ऋण उठाएको छ।

यो अवधिमा सरकारले लिएको आन्तरिक ऋणमध्ये १५ अर्बको एकबर्से ट्रेजरी बिल, ८ अर्बको २ बर्से विकास ऋण पत्र, २ अर्बको ३ बर्से विकास ऋण पत्र र ५ अर्बको ४ बर्से ऋण पत्र जारी भएका छन्। सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने ८३ अर्ब ३ करोड रुपैयाँ छ।

यस्तै चालु आवका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर अनुदान र २ खर्ब ४२ अर्ब बराबर बाह्य ऋण लिने सरकारको योजना छ। तर पुस मसान्तसम्म सरकारले ८ अर्ब १२ करोड अनुदान पाएको छ।

कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड बराबर लिएको छ।सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ १ खर्ब १४ अर्ब बराबर प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech