२७ बैशाख २०८१, बिहीबार

कोहलपुरमा वनमन्त्री चौधरीद्धारा लुम्बिनी प्रादेशिक महोत्सव उद्घाटन
  • कल्पना कार्की

कोहलपुर\ बाँकेको कोहलपुरमा लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ सुरु भएको छ । ‘कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि महोत्सव सुरु भएको हो ।

कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ आयोजित महोत्सवको एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन।

महोत्सव उद्घाटन सत्रका प्रमुख अतिथिसमेत रहेका मन्त्री चौधरीले महोत्सवले विभिन्न कारणले थला परेको अर्थतन्त्रलाई सुधार गर्न भूमिका खेल्ने विस्वास व्यक्त गरेका छन। ।

‘महोत्सवमा कृषि,पर्यटन र उद्योग सम्बन्धि महत्वपूर्ण गतिविधि हुने मेरो विस्वास छ ।यहाँका स्थानीय उत्पादनको प्रवद्र्धन हुने आशा छ । महोत्सवको उद्देश्य प्राप्तिमा पनि भूमिका खेलोस् ,’ उनले भनेका छन।

महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मणराज पौडेलले कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ महोत्सव आयोजना गरिएको बताएका थिए । उनका अनुसार विभिन्न कारणले थिलथिलो भएको आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै प्रतिकूलताभित्र अनुकुलता खोज्ने प्रयासपनि हो ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा,यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जुकुमारी चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यद्धय जमशेर अलि मियाँ र किशोर आचार्य,कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले महोत्सव सफल होस भन्दै शुभकामना प्रकट गरेका थिए ।

महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् ।

महोत्सवमा स्थानीय उत्पादन र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । आज दोस्रो दिन राष्ट्रिय कलाकारहरु शान्तिश्री परियार, मिलन नेवार र चन्द्र शर्माको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech