१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जमा क्रिकेट मैदान नहुँदा खेलाडीलाई समस्या
  • न्युज मानसराेवर

बाँके\क्रिकेटमा नेपालगञ्जका खेलाडीले समय समयमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रतिभा देखाउँदै आएपनि क्रिकेट मैदानको अभावले खेल सञ्चालन प्रभावित हुँदै आएको छ ।

पश्चिम नेपालकै केन्द्रबिन्दु नेपालगञ्जमै एउटा छुट्टै क्रिकेट मैदानसम्म नहुँदा लामो समयदेखि यहाँ विभिन्न प्रतियोगिता गर्न तथा खेल अभ्यास गर्न खेलाडीहरूलाई समस्या हुँदै आएको हो । उपमहानगरभित्र क्रिकेट मैदान नहुँदा यहाँका खेलाडीले वर्षौँदेखि मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता र अभ्यास गर्दै आएका छन् ।

तर, सो विद्यालयले पनि बेला बेलामा मैदान प्रयोग गर्न नदिँदा प्रतियोगिता नै रद्द गर्नु परेको बाँके जिल्ला क्रिकेट सङ्घका पूर्व अध्यक्ष राम टण्डन गुनासो गर्छन् । उनले यति ठुलो शहरमा एउटा क्रिकेट मैदान नहुनु खेलाडी, खेलप्रेमी र सबै नगरवासीका लागि दुःखद भएको
बताए ।धेरै वर्ष अगाडि रङ्गशालामा क्रिकेट खेल हुने गरेको स्मरण गर्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी जावेद सिद्धिकीले पछि रङ्गशालालाई फुटबल र अन्य खेलका लागि प्रयोग गर्न थालिएपछि क्रिकेट खेलाडीको बिचल्ली भएको बताए ।

उनले मंगलप्रसाद माविका शिक्षकहरूलाई आग्रह गरेर सो विद्यालयको खेल मैदान प्रयोग गर्दै आएपनि बिचबिचमा अवरोध आउँदा खेल सञ्चालनमा समस्या भइरहेको बताए ।शहरमा क्रिकेट मैदानका लागि धेरै पटक प्रयास र माग गरिएपनि कतैबाट सुनुवाइ नभएको क्रिकेटका प्रशिक्षक दीपेन्द्र प्रतापसिंहको भनाई छ । उनले मैदान नहुँदा जेनतेन विद्यालयको खेल मैदानलाई उपयोग गर्नु परेको बताए ।

खेलमैदानकै अभावका कारण अहिले यहाँ सञ्चालन भइरहेको नेपालगञ्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताका पाँच खेलहरू कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् ।

जारी प्रतियोगिताका खेलहरू नेपालगञ्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भइरहेको थियो ।तर, विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मंगलप्रसाद उच्च माविले मैदान आवश्यक परेको भन्दै केही दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेपछि सार्नु परेको बाँके जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष सुफियान खानले बताए ।

उनले मैदान खालि नहुँदासम्म खेल सञ्चालनमा समस्या हुने पनि बताए ।ठूला प्रतियोगिता गर्नका लागि कोहलपुरको क्रिकेट मैदानलाई उपयोग गरिएपनि नगरस्तरीय प्रतियोगिता र खेल अभ्यासका लागि तत्काल नेपालगञ्जमा एक क्रिकेट मैदानको आवश्यकता रहेको खेलाडीहरूको भनाई छ ।

  • ६ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech