७ जेष्ठ २०८१, सोमबार

बाँकेका छोटी भन्सार कार्यालय पुनर्स्थापना गर्न माग
  • न्युज मानसराेवर

बाँकेमा मुख्य नाकाबाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन समस्या भइरहेको र अवैध व्यापार नियन्त्रणमा कठिनाइ भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यस जिल्लाका विभिन्न स्थानमा रहेका सातवटा छोटी भन्सार कार्यालय करिब दुई दशकअघि सशस्त्र द्वन्द्वका बेला बन्द गरिएकामा हालसम्म पुनस्र्थापना हुन सकेका छैनन् । यी सहायक नाकाबाट ठूलो परिमाणमा सामान राजस्व छलेर भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताएका छन।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साईगाउँ र साईगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए ।

यी स्थानमा रहेका भन्सार कार्यालय पुनस्र्थापना नहुँदा भौतिक संरचना जीर्ण भएका छन् । नरैनापुर, खडैचा, साईगाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ ।

छोटी भन्सार कार्यालय नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठूलो परिमाणमा मालसामान राजस्व छलेर भित्रिने गरेको स्थानीयवासीको भनाइ छ ।छोटी भन्सार कार्यालय नहुँदा अवैध व्यापार फस्टाएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पनि बताए । यनले कार्यालय पुनस्र्थापनाका लागि पटकपटक आग्रह गरिए पनि सुनुवाइ नभएको उल्लेख गरे ।

यस जिल्लामा पर्ने भारतसँगको ६५ किलोमिटरको खुला नाकामा एउटा मात्र भन्सार कार्यालय हुनुलगायतका कारणले गत केही वर्षदेखि नेपालगञ्ज भन्सारको राजस्व सङ्कलनमा कमी आउँदै गएको छ ।

उद्योगी व्यवसायीले तत्काल यी छोटी भन्सार कार्यालय पुनस्र्थापना गर्न माग गरेका छन् । बाँकेका व्यवसायी कृष्णप्रसाद श्रेष्ठले पनि छोटी भन्सार नहुँदा राजस्व चुहावट धेरै बढेको चर्चा गर्दै अवैध रूपमा भिœयाइएको मालसामानका कारण स्थानीय व्यवसायीलाई पनि समस्या भइरहेको जानकारी गराए ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले यति लामो खुला सिमानामा एउटा मात्र भन्सार हुँदा चोरी पैठारी अत्यधिक बढेर राजस्व सङ्कलनसँगै व्यापार व्यवसाय पनि प्रभावित भएको बताए ।

उनले तत्काल सबै छोटी भन्सार कार्यालय सञ्चालन गरेर नाकामा कडाइ गर्नुपर्ने बताए । नेपालगञ्ज भन्सार कार्यालयले आव २०७८÷७९ मा लक्ष्यको ८८ दशमलव ५० प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । सो आर्थिक वर्षमा २५ अर्ब २१ करोड २६ लाख ६२ हजार रुपियाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा २२ अर्ब ३१ करोड २६ लाख रुपियाँ असुली गर्न सकेको भन्सार कार्यालय नेपालगञ्जले जनाएको हो । चालू आर्थिक वर्षको हालसम्म पनि हरेक महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको सो कार्यालयले जनाएको छ ।

  • १२ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech