१४ बैशाख २०८१, शुक्रबार

चैतदेखि नेपालगञ्ज पौडी पोखरी सर्वसाधारणका लागि खुला
  • न्युज मानसराेवर

बाँके\ललितपुरको पौडी पोखरीपछि देशकै सबैभन्दा ठूलो मानिएको नेपालगञ्ज रङ्गशालामा रहेको पौडी पोखरी चैत १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले आगामी चैत १ गतेदेखि रङ्गशालाको पौडी पोखरी (स्विमिङम पुल) लाई सर्वसाधारणका लागि खुला गर्ने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले बताए ।

गर्मी बढेसँगै पौडी पोखरीलाई मर्मत र सरसफाई गरी सबैका लागि खुला गर्ने तयारी भइरहेको बताए ।  ‘‘पुरानो पानी फाल्ने र लेउलगायत अन्य फोहोर सफा गर्ने काम जारी छ । एक–दुई दिनभित्र सफाइको काम सकेर नयाँ पानी हाल्ने र फिल्टरलगायत प्रविधिबाट पानी सफा पारेर सञ्चालनमा ल्याउँछौँ ।,’’ चन्दले भनेका छन । प्रमुख चन्दका अनुसार नेपालगञ्ज रङ्गशालामा रहेको स्विमिङ पुल प्रयोगका लागि शुल्क निर्धारण गरिएको छ । स्विमिङ पुल सञ्चालनका लागि मापदण्ड तयार गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले शुल्क निर्धारण गरेको हो ।

समितिले सर्वसाधारणका लागि प्रति सिफ्ट दुई सय रुपियाँ र विद्यार्थीका लागि प्रति सिफ्ट एक सय रुपियाँ शुल्क निर्धारण गरेको कार्यालय प्रमुख चन्दले  बताए ।  उनलेमासिक, अर्ध वार्षिक र वार्षिक सदस्यता शुल्कसमेत निर्धारण गरिएको जानकारी समेत गराए ।

समितिले स्पेशल र सदस्य समूहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । स्पेशल र सदस्य समूहका लागि बिहान ८ देखि १० बजे र स्पेशल ग्रुपका लागि बेलुकी ४ः३० देखि ६ः३० बजेको समय निर्धारण गरिएको समितिले जनाएको छ ।

स्विमिङ पुल सञ्चालनका लागि प्रशिक्षक र जीवन रक्षकको व्यवस्था पनि गरिएको छ भने स्विमिङ गर्नेहरुले अनिवार्य रुपमा स्विमिङ कस्टम लगाउनुपर्ने नियम रहेको जनाइएको छ ।

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech