२९ बैशाख २०८१, शनिबार

अलपत्र चारलेन सडक निर्माण शुरू
  • रासस

बाँके\बाँकेको खजुरा बजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण शुरू भएको छ ।

खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधवारदेखि काम शुरू गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए ।

सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नुपरेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताए ।

२०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो ।

निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रुपैयाँ लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । २०७८ चैत ३० मा पहिलोपटक म्याद गरिएको थियो, जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ सालमा काम शुरू भएयता निर्माण कम्पनीले करीब १८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech