१२ बैशाख २०८१, बुधबार

बोट झांगिने गरी फुलेकाले आँपको उत्पादन बढ्ने
  • न्युज मानसराेवर

बाँके\बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झांगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । वर्र्षेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नुका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ ।

एकाध आँप भएको बारी होस् वा आँपको बगैंचा नै यतिबेला सबैतिर आँपका रूख फुलेर झपक्कै भएका छन् । बाँकेका अधिकांश घरमा घरायसी प्रयोजनका लागि आँपका रूख लगाइएका छन् । व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका बगैंचा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताए । यस वर्ष आँपको उत्पादन बढ्ने उनको विश्वास छ । उनले भने,‘आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।’

बाँकेमा चैत, वैशाख र जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पुर्‍याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले बताएको छ । जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दालगायत अन्य जातका रुख पनि लगाइएका छन् । बाँकेभर करीब ३०० हेक्टर जमीनमा आँप लगाइएको अनुमान केन्द्रको छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । जिल्लाको सीतापुर, भवानियापुर, डुडुवालगायत क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ । रासस

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech