२३ बैशाख २०८१, आईतवार

अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम भएका छन। नेपाल प्रहरीका निरन खड्का द्वितीय र श्रीलंकाका अमिला सनाथ तृतीय भए । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारी विकास र शान्तिका लागि बिहीबार बिहान कपिलवस्तुको तिलौराकोटबाट दौड सुरु भएको थियो।

लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी  गराए । म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान सवा ८ बजे सुरु भएर लुम्बिनीको शान्ति दीप रहेका गेट अगाडि पूरा भएको थियो।

तिलौराकोटबाट विभिन्न बौद्धस्थल हुँदै ४२ किलोमिटर दुरी पार गरेका थिए। प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएका थिए। यो वर्षको प्रतियोगिता समापनसँगै दुई सय बढी राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रण गरिने छ।

म्याराथनमा प्रथमले एक लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद प्राप्त गरेको लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी  गराएका छन। उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई समेत पुरस्कार दिइएको हो।

खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित दुई सय सात राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो।

  • २३ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech