१६ चैत्र २०८०, शुक्रबार

बाँकेमा खेलाडीका लागि दोस्रो पौडी पोखरी सञ्चालित
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको पौडी पोखरीलाई खेलाडीका लागि सञ्चालनमा ल्याइएको पोखरीका सञ्चालक टेक श्रेष्ठले बताए । यसअघि आठौं राष्ट्रिय खेलकुदको अवसरमा नेपालगञ्जस्थित रंगशालामा ललितपुर पछिको देशकै सबैभन्दा ठूलो पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।

खजुरास्थित मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीको निर्माण पुरा गरेर सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले बताए ।

उनले ‘स्वास्थ्य र सुरक्षाको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ उक्त पौडी पोखरी संञ्चालनमा ल्याइएको जनाउँदै खेलाडी उत्पादन गर्ने उद्देश्यले पौडी पोखरीको निर्माण गरिएको बताए ।

श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाई १२.५ मिटरको रहेको छ । जहाँ एकैपटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । करिब दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ ।

सो पोखरीमा बालबालिकाका लागि छुट्टै १.५ फिट गहिराईको पोखरी पनि निर्माण गरिएको छ । सो पोखरीमा खेलाडीलाई प्रशिक्षणको समेत व्यवस्था गरिएको छ ।

  • १६ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech