१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा प्रयोगविहीन बन्दै करोडौँ रुपियाँका रङ्गशाला
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ ।

नियमित खेल गतिविधि नहुँदा नेपालगञ्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् ।

प्याराफितसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल प्रतियोगिता मात्रै सञ्चालन भएको छ । नियमित अभ्यास र प्रतियोगिता नभएपछि बर्मुडा घाँस सुकेको छ ।

मैदान समेत अस्तव्यस्त भएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालामा मैदान निर्माणका लागि शुल्कको व्यवस्था गरिएको बताए । प्रमुख चन्दले भने , “रङ्गशालाभित्र एउटा खेल आयोजना गर्न १० हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ, राष्ट्रिय खेलकुदपछि यहाँ एकाध मात्रै प्रतियोगिता भएका छन् ।”

स्थानीय र प्रदेशस्तरीय प्रतियोगिताहरू शुल्क तिर्नुपर्ने भए पनि रङ्गशालाभित्र सञ्चालन हुन नसकेका हुन ।

जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताका विजेता बाँकेका खेलाडी तथा क्लबले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि समेत मैदान प्रयोग गर्न नपाएको गुनासो गरेका  छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले रङ्गशालाभित्र प्रतियोगिता सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गरेका छन।

रङ्गशाला व्यवस्थापनका लागि आवश्यक भएकाले निश्चित शुल्क तोकिएको भन्दै उनले शुल्कबारे पुनर्विचार गर्न छलफल गरिने बताए ।  सदस्यसचिव घिसिङले भने , “रङ्गशाला खेलकुद गतिविधि सञ्चालनका लागि हो, म प्रदेश र स्थानीयस्तरका खेलकुदहरू यहाँभित्र आयोजना गर्न आमन्त्रण गर्दछु ।” रङ्गशालालाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसङ्घसँग सम्बन्धितले माग गरेका छन् ।

  • २० बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech