१४ बैशाख २०८१, शुक्रबार

आज २५६७औं बुद्धजयन्ती
  • न्युज मानसराेवर

बुटवल\शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामनाका साथ मनाउने गरिएको छ ।बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिन्छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को विशेष समारोहका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेको छ । यसका लागि लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा दिवसको मूल समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री प्रचण्ड, पर्यटनमन्त्री सुदन किराँतीलगायतले सम्बोधन गर्ने प्रचार प्रसार उपसमितिका संयोजक एवम् कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले जानकारी दिए ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी उनी तपस्याका लागि निस्केका थिए ।

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech