१५ चैत्र २०८०, बिहीबार

न्यायको माग गर्दै चन्द्राका परिवार
  • न्युज मानसराेवर

बाँके\रोल्पाको सुनछहरी झरना घुम्न गएकी बाँके नेपालगन्ज उपमहानगरपालिका १८ की २४ वर्षीया चन्द्रा सुनारको डुबेर नभई योजनाबद्ध रुपमा हत्या गरिएको पीडित पक्षले आरोप लगाएका छन् ।

मृतकको शब शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गर्दै मृतकका परिवारले न्यायको माग गरेका हुन् । मृतकका आफन्तका अनुसार घटनास्थलमा मदिराको बोतल, शकांस्पद औषधि, यौनाङ्गमा घाउ भएको र शव नग्न अवस्थामा रहेको थियो ।

मृतक चन्द्राका हजुरबुबा देउमल सुनारका अनुसार १० वर्षअघि चन्द्रा र उमेश सुनारले प्रेम विवाह गरेका थिए । केही महिना उनीहरू सँगै बसे पनि पछि गएर उमेशले वास्ता गर्न छाडेको पीडित पक्षले दाबी गरेका छन् ।

‘आरोपित उमेशले लामो समय वास्ता नगर्नु र एक्कासी गत वैशाख २६ गते रोल्पा आऊ भन्दै ५ हजार रूपैयाँ पठाएका थिए । रोल्पा पुगेको तीन दिनमै उनको हत्या भयो,’ मृतकका हजुरबुबा देउमल सुनारले भने ।

हत्या घटनाको उजुरी दिन खोज्दा रोल्पा प्रहरीले उजुरी लिन नमानेको मृतकका फुपू दिलमाया विकले बताइन् । ‘मुद्दा दर्ता नगरे शव नउठाउने भनेपछि प्रहरीले उल्टै हिरासतमा पुर्‍याउने धम्की दिए,’ दिलमायाले भनिन्, ‘पानीमा डुबेर मरेको मान्छेको कसरी मुख र शरीरभरि चोट हुन्छ । प्रमाण लुकाइएको छ, अनुसन्धान हुनुपर्छ ।’

आरोपित उमेश रोल्पा पोवाङ प्रहरी चौकीमा कार्यरत छन् । घटनास्थल प्रहरी चौकीबाट डेढ घण्टाको पैदल दूरीमा छ । शवको पोस्टमार्टम वैशाख ३१ गते जिल्ला अस्पताल रेउघामा गरी सोही दिन शव आफन्तलाई बुझाइएको थियो ।

  • ६ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech