बाँके\लुम्बिनी प्रदेशअन्तर्गतका विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालु आर्थिक वर्षमा समयभित्रै योजनाको काम सम्पन्न गर्ने उद्देश्यले प्रक्रिया अघि बढाएको छ ।
प्रदेशअन्तर्गत सडक र पुल निर्माणको जिम्मेवारी पाएको सडक पूर्वाधार कार्यालय बाँकेका प्रमुख डिभिजनल इन्जिनियर ललितबहादुर न्यौपानेले चालु आर्थिक वर्षमा विनियोजन भएका योजनामध्ये करिब ५० प्रतिशत योजनाको ठेक्का टेण्डर भइसकेको जानकारी दिएका छन।
सडक पूर्वाधारअन्तर्गत बाँकेमा ८० बढी योजना रहेकोमा ३४ वटाको टेण्डर भइसकेको छ । प्रमुख डिभिजनल इन्जिनियर न्यौपानेले भने , ‘‘बाँकी रहेका योजनाहरूको टेण्डर आह्वानको अन्तिम चरणमा रहेको छ ।’’ सडक पूर्वाधार कार्यालयअन्तर्गत बाँकेमा ७० करोड बढी बजेटका योजना रहेको कार्यालयले जनाएको छ ।
यसैगरी, प्रदेशको अर्को ठुलो विकासे कार्यालयको रूपमा रहेको सहरी विकास तथा भवन कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन भएका १५ वटा योजनाको टेण्डर आह्वान गरेको छ ।
कार्यालयका निमित्त प्रमुख राम आशिष् दाषले एक हप्ताभित्रै थप १५ योजनाको टेण्डर आह्वान गर्ने तयारीमा रहेको जानकारी गराए । कार्यालयअन्तर्गत चालु आवमा दुई वटा योजना रहेका छन् । दसैँ अघि सम्पूर्ण योजनाको टेण्डर आह्वान गरिसक्ने तयारी दुवै कार्यालयको रहेको छ ।
सहरी विकास तथा भवन कार्यालयले सडक, सामुदायिक भवन निर्माणसहित बस्ती विकाससँग सम्बन्धित विकास निर्माणका काम गर्दै आएको छ । प्रदेशअन्तर्गतका पर्यटन कार्यालय, सिँचाई, खानेपानी, सामाजिक विकास डिभिजन लगायतका कार्यालयले समेत चालु आवका योजना कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेका छन् ।









