बुटवल\अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभामा जनयुद्ध दिवसका दिन दिनेगरेको सरकारी विदा खारेज गर्न पनि माग गरिएको छ ।
समाजले बुटवलमा आज प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेको थियो । हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन, सङ्क्रमणकालीन न्याय पीडितमैत्री र मानवअधिकारमैत्री बनाऊ, लगायतका नारासहित प्रदर्शन गरिएको थियो ।
सो अबसरमा बोल्दै समाजका केन्द्रीय सल्लाहकार तथा निबर्तमान सभापति गोबिन्द खनालले सरकारले फागुन १ गतेलाई राष्ट्रिय चार्ड जसरी सार्बजनिक बिदा दिन थालेको भन्दै हिंसालाई बैधता दिने निर्णय मान्न नसकिनेबताए । फागुन १ गते जनयुद्ध दिवसमा दिइने सरकारी बिदा खारेज गर्नैपर्ने समाजको धारणा रहेको चर्चा गरेका छन।
समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराई कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य डीपी खनाल, स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे, समाजबादी प्रेस संगठनका उषाकिरण पन्थ, कार्यक्रम संयोजक लिलाधर लुइटेल लगायतले बोल्दै हिंसाको कुनै भविष्य नरहेको बताए ।
प्रत्येक वर्ष अंग्रेजी पात्रोअनुसार अक्टोबर २ मा अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइन्छ । सन् २००७ जुन १५ को दिन संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।