बाँके\जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलबार दिउँसो १ बजेबाट जारी गरेको कर्फ्यु लगाएर नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालन गरेपछि अहिले आएर नगरको अवस्था सामान्य बन्दैगएको छ ।
प्रशासनले लगाएको कर्फ्यु जारी रहे पनि शान्ति सुरक्षाको अवस्था भने सामान्य बन्दैगएको प्रशासनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलवार दिउँसो ३ बजेसम्म केही छिटपुट घट्नाहरु भए पनि त्यसयता कुनै पनि घटना नभएको र नगर शान्त तथा सामान्य अवस्थामा फर्कदैगएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले अहिले नगरको अवस्था शान्त र सामान्य बन्दैगएको जनाउँदै कर्फ्युको पालना गर्न र घरमै बस्न आम नागरिकसँग आग्रह गरिएको जानकारी गराएका छन।
त्यसै गरी धार्मिक सद्भाव समितिका अध्यक्ष तथा बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्दननाथ र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले एक अर्काको धर्म र संस्कृतिको सम्मान गर्दै शान्ति कायम गर्न सबैसँग आग्रह समेत गरेका छन।