११ जेष्ठ २०८३, सोमबार

हामी त दशैं मनाउन घर आयौँ है
  • न्युज मानसराेवर

बाँके\दसैँ र तिहारजस्ता ठुला चाडपर्वहरू नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली चाडपर्व मनाउन नेपाल फर्किने क्रम हाल आएर बढेको छ ।

रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली अहिले दसैँ–तिहार मनाउन सयौँको सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका सयौँ युवा अहिले नेपाल फर्किरहेकाले सीमा नाकामा निकै चहलपहल र भीड बढेको सिमानास्थित जमुनाह प्रहरीले जनाएको छ ।

दसैँ आउन केही दिनमात्र बाँकी रहेको अवस्थामा अहिले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म नेपाली भारतबाट रोजगारी गरेर घर फर्किन सीमा नाकामा पुगिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ सई मीनबहादुर विष्टले बताए ।

उनीहरूलाई गन्तव्यतर्फ पठाउन इलाका प्रहरी कार्यालयले सहजीकरण गरिरहेको पनि समेत उल्लेख गरेका छन। प्रमुख विष्टका अनुसार यसअघि सीमापारि र सीमानामा विभिन्न प्रकारका ठगी र लुटपाटमा नेपाली पर्दै आएकाले रोक्न दुबैतर्फ समन्वय गरेर कडा निगरानी बढाइएको छ । उनले सोही कारणले हालसम्म त्यस्तो कुनै पनि घटना हुन नसकेको समेत बताए ।

भारतबाट रोजगारी गरेर चाडपर्व मनाउन फर्किनेमा अधिकांश नेपाली सल्यान, दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, मुगु, रुकुम र दाङ जिल्लाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

अधिकांश नेपाली भारतको सिमला, कुल्लु मनाली, चण्डीगढ र हरिद्वारबाट काम गरेर पर्व मनाउन फर्किएको जमुनाहका प्रहरी प्रमुख विष्टले बताएका छन। सो क्रम दिनदिनै जारी रहेको उनको भनाइ छ ।

चाडपर्व मनाउन फर्किनेलाई विभिन्न प्रकारका सहयोग गर्नका लागि नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । सो हेल्प डेस्कले नाकामा पुगेर सीमापारि रहेका नेपालीलाई सहजीकरण गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घर फर्किने क्रममा जमुनाह नाकामा भेटिनुभएका सुर्खेत रामघाटका हरिबहादुर थापाले यस पटक सहजरुपमा नाका पार गरिएको जनाउँदै ठगी र लुटपाट नभएको बताए । उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्व मनाउन फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने घटना हुन नदिन कडा व्यवस्था मिलाइएको जानकारी गराएका छन।

 

  • २५ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech