बाँके\नेपालगञ्ज उपमहानगरपालिका वडा –८ महेन्द्रपार्कका छोटु केवट र उहाँका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ । नेपालगञ्जको महेन्द्रपार्क नजिकै दुई दाजुभाइ विजयादशमीको स्थापना गरिने दुर्गा भवानीको मूर्ति (प्रतिमा) बनाउन दिनरात ब्यस्त छन।
बाँकेलगायतका तराईका जिल्लामा विजयादशमीको घटस्थापनाको भोलिपल्ट द्वितीया दिनमा सहरका चोक तथा गाउँबस्तीमा दुर्गा भवानीको प्रतिमा स्थापना गरी पूजाआजा गर्ने प्रचलन छ ।
यसरी स्थापना गरिएका मूर्तिहरु विधिपूर्वक विजयादशीको टीकाको भोलिपल्ट नदी तथा खोलामा विसर्जन गर्ने गरिन्छ । विगत आठ वर्षदेखि दुर्गा भवानीको मूर्ति बनाउँदै आउनुभएका छोटु दुर्गा भवानीसहित गणेश भगवान र अन्य विभिन्न देवीदेउताको मूर्ति तयार पारिएको बताए ।
छोटुले भने , ‘माटो र परालबाट बनाइने भएकाले कम खर्चमै मूर्ति निर्माण गर्न सकिन्छ ।’ दिनरातको मेहनतको तुलनामा कम मूल्यमा मूर्ति विक्री गर्दै आएको उनको भनाइ छ । साना र ठूला मूर्ति निर्माण गरेका छोटुले ठूलाखालका मूर्तिको मूल्य १८ हजार रुपियाँसम्म रहेको बताए । विभिन्न स्थानमा मूर्ति स्थापना गर्नेहरुले पहिले नै भनेअनुसारका मूर्ति तयार पारिरहेका केवट दाजुभाइले हरेक वर्ष विजयादशमीमा यसखालका मूर्तिहरु तयार पार्दै आएका छन।











