११ जेष्ठ २०८३, सोमबार

बैजनाथ गाउँपालिकामा सञ्चालनमा आयो ‘बाल सुधार गृह’
  • न्युज मानसराेवर

बाँके\उमेरले १८ वर्ष नाघेका युवालाई ब्यवस्थित रुपले राख्न बाँकेको नौवस्तामा ‘बाल सुधार गृह’ सञ्चालनमा ल्याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले केन्द्रीय बाल न्याय समितिले विभिन्न  सरोकारवालासँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो ।

उक्त सुधार गृहमा पहिलो चरणमा भैरहवास्थित बाल सुधार गृहबाट स्थानान्तरण गरेर ल्याइएका १३ जना युवालाई राखिएको बाल सुधार गृह नौवस्ताका कार्यालय प्रमुख सविता रावतले जानकारी दिइन् । उनले भनिन्, ‘पर्सा र हेटौडाबाट पनि ३३ जना युवालाई स्थानान्तरण गरेर ल्याइँदैछ, क्रमशः अन्य बाल सुधार गृहबाट पनि युवालाई स्थानान्तरण गरेर ल्याउने तयारी छ ।’

बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित क्षेत्रीय कारागारको एउटा ब्लकमा १८ वर्ष नाघेर एक तह मुद्दा टुंगिएका युवालाई उक्त गृहमा राखिएको प्रमुख रावतले बताइन् । उनका अनुसार बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बाल सुधार गृहबाट पनि ७२ जना १८ वर्षमाथीका युवालाई नौवस्ता स्थानान्तरण गर्ने योजना रहेको छ ।

नौवस्ता बाल सुधार गृहको क्षमता अहिले २ सय ६४ जना रहेको छ । सरकारले बाल सुधार गृह सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना र नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मी खटाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौवस्ता बाल सुधार गृहमा देशभरका सुधार गृहमा रहेका १८ देखी २० वर्ष उमेरसम्मका युवालाई राखिने बताए ।

‘बाल सुधार गृह सञ्चालनमा आएसँगै १८ देखी २० वर्ष उमेरसम्मका युवालाई नौवस्तामा ल्याएर राख्न सुरु गरिएको छ, यसको क्षमता धेरै भएकाले देशभरबाट पनि ल्याएर राख्न सकिन्छ,’ उनले भने । बैजनाथ-३ का वडाअध्यक्ष निखिल बैगारले बाल सुधार गृह सञ्चालनमा आएसँगै चहल पहल बढेको बताए ।

‘यहाँ पहिले खासै चहल पहल हुदैनथ्यो, अहिले बाल सुधार गृह सञ्चालनमा आएपछि केहीदिन यता चहल पहल बढेको छ,’ उनले भने । नौवस्तामा स्थायी रुपमा बाल सुधार गृह सञ्चालनमा ल्याउन स्थानीय सरकारको साथ र सहयोग रहने वडाअध्यक्ष बैगारले बताए ।

  • २८ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech