६ जेष्ठ २०८१, आईतवार

टी-२० विश्वकपबाट नेपाल एक कदम टाढा
  • न्युज मानसराेवर

बाँके\टी-२०  विश्वकप क्वालिफायरको सेमिफाइनलमा स्थान बनाउँदै नेपाल इतिहासमा दोस्रोपटक टी(२० विश्वकप खेल्ने सम्भावनाको नजिक पुगेको छ । शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ ।

आज भएको समूह चरणको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत हासिल गर्‍यो । लगातार दोस्रो जीतपछि नेपालले भोलि ओमानसँग अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनमा स्थान बनाएको हो । नेपालले सेमिफाइनल कोसित खेल्छ भन्ने टुंगो भोलि लाग्नेछ ।

नेपालसँगै ओमान पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भोलिको खेलले नेपाल र ओमानमा को पहिलो हुने भन्ने निश्चित गर्ने छ । यदि नेपालले ओमानलाई हराउँदै सेमिफाइनलमा पहिलो भयो भने अर्को समूहबाट दोस्रो भएर आउने टीमसँग खेल्नेछ । नेपाल पराजित भएर दोस्रो भयो भने समूह ‘बी’ को पहिलो टीमसँग खेल्नुपर्छ ।

समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेत छन् । लगातार दुई जीत हासिल गरेको यूएईले सेमिफाइनलमा स्थान बनाउने लगभग पक्का छ । सेमिफाइनलको दावेदार मानिएको हङकङ बहराइनसँग पराजित भयो भने बहराइन यूएईसँग पराजित भयो । यसले समूहबीचको समीकरण रोचक बनेको छ । अब भोलि यूएई र हङकङ अनि बहराइन र कुवेतबीच खेल हुनेछ ।

यूएईले हङकङलाई र बहराइनले कुवेतलाई हराएको खण्डमा बहराइन सेमिफाइनलमा जानेछ । हङकङले यूएईलाई र बहराइनले कुवेतलाई हराएमा रनरेटको आधारमा निर्णय हुन्छ ।

यस्तै हङकङले यूएईलाई र कुवेतले बहराइनलाई हराएको खण्डमा हङकङ सेमिफाइनलमा जान्छ । कुवेतको भने सम्भावना अन्त्य भइसकेको छ ।नेपालले यूएईसँग अत्यधिक म्याच खेल्दै आएको छ । पछिल्लो केही वर्षमा नेपाल युएईमाथि हावी भइरहेको थियो । यद्यपि, हालै काठमाडौंमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाललाई हराएकाले यूएईको मनोबल बढेको छ ।

बहराइनसँग नेपालले कम खेल खेले पनि तुलनात्मक रुपमा नेपाल बलियो हो । यद्यपि, विश्वकपको लागि निर्णायक म्याच भएको खेलाडीहरु दबाबमा हुनेछन् । खासमा यो प्रतियोगिताको फाइनलभन्दा सेमिफाइनल महत्वपूर्ण छ ।

नेपालका लागि समूह विजेता हुनु महत्वपूर्ण किन छ भने समूह एको बिजेता र समूह बीको उपविजेताबीचको म्याच त्रिवि मैदानमा हुनेछ । त्रिवि मैदानमा नेपालको ब्याटिङ निकै चल्ने गर्छ । यहाँ नेपाललाई हराउन कुनै पनि टिमका लागि सहज हुँदैन ।

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech