१२ श्रावण २०८१, शनिबार

१५ अर्बको बिजुली निर्यात
  • न्युज मानसराेवर

बाँके\नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले जेठ २८ गतेदेखि भारतमा विद्युत् निर्यात सुरु गरेको थियो।

प्राधिकरणका अनुसार मंसिर २० गतेसम्म एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारतमा बिक्री गरिएको हो। प्राधिकरणले प्रतियुनिट औषत आठ रुपैयाँ ७७ पैसाको दरले विद्युत् निर्यात गरेको जनाएको छ। सो अवधिमा दैनिक अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात भएको प्राधिकरणले जानकारी दिएको छ।

वर्षायाममा बढी भएको विद्युत् निर्यात हुने भए पनि सुक्खायामसँगै विद्युत् उत्पादन घट्न सुरु गरेपछि प्राधिकरण अब भने विद्युत् आयातको अवस्थामा पुगेको छ। जाडो बढ्दा आन्तरिक माग पनि बढ्ने र त्यसलाई पूर्ति गर्न केही विद्युत् आयात गर्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबारदेखि नै भारतबाट विद्युत् आयात सुरु गर्दैछ।

योसँगै भारत निर्यात हुने विद्युत् पनि बन्द भएको छ । विद्युत् आयात भए पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई नेपाल खुद निर्यातकर्ता बन्न सक्ने प्रक्षेपण प्राधिकरणको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थोरै परिणाममा विद्युत् आयात सुरु गरिएको बताए। विद्युत् आयात गर्दा पनि सकेसम्म सस्तो दरमा बिजुली ल्याउने गरी सोही समयका लागि आयात गरिने उनले बताए। पिक समयमा आयात गर्दा विद्युत् महँगो पर्ने भएकोले दिउँसो र रातिको समयका लागि आयात गरिएको उनले जानकारी दिए।

प्राधिकरणका अनुसार वैशाखको दोस्रो हप्ताबाट नेपालले पुनः विद्युत् निर्यात सुरु गर्नेछ। यस वर्ष करिब ९ सय मेगाावट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने भएकोले अर्को वर्ष ३० अर्ब रुपियाँसम्मको विद्युत् निर्यात हुन सक्ने घिसिङले जानकारी दिए।

‘दुई देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइन बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजना निर्माण भइरहेका छन्।

‘त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रूपमा करिब एक खर्ब रुपियाँको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ,’ उनले भने।

गोरखापत्र दैनिकबाट

  • २३ मंसिर २०८०, शनिबार प्रकाशित

  • Nabintech