४ जेष्ठ २०८१, शुक्रबार

कपुरकोट गाउँपालिकामा ‘पढ्दै, सिक्दै र कमाउँदै’ कार्यक्रम
  • न्युज मानसराेवर

सल्यान: सल्यानको कपुरकोट गाउँपालिकाले पढ्दै सिक्दै र कमाउँदै कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । एक माध्यमिक विद्यालय एक सिप बिकास तालिमको आयोजना गरेर पढ्दै सिक्दै र कमाउँदै कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

सोमबार कपुरकोटमा विभिन्न चार विधाका एक महिने तालिमको संयुक्त रुपमा उद्घाटन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । विभिन्न तालिमबाट विद्यार्थीले सिकेका प्राविधिक ज्ञानलाई गाउँपालिकाबाट आयोजनाका रुपमा अघि बढाइएका योजनाका काममा प्रयोगात्मक रोजगारीको रुपमा परिक्षण गरिने अध्यक्ष पुनको भनाई छ ।

तालिममा भाग लिने विद्यार्थीहरू सहभागी भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटका चार माध्यमिक विद्यालयमा गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको साझेदारीमा तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । पछिल्लो समय सिपको अभावका कारण धेरै नागरिकहरू बेरोजगार बनेको भन्दै विद्यार्थीहरूलाई विद्यालय तहबाटै व्यवहारिक सिप सिकाउन लागेको उपाध्यक्ष भण्डारीको भनाई छ । उहाँले ऊर्जाशील युवाहरूलाई हाँसी खुसीको जीवनमा रूपान्तरण गर्न गाउँपालिकाले दिन लागेको तालिमले ठुलो सहयोग पुर्‍याउने बताउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले विद्यार्थीको विद्यालयको औपचारिक कक्षालाई हानी नपुर्‍याउने गरी विद्यालयमा तालिमको समय व्यवस्थापन गरिएको बताउनुभयो । वलीका अनुसार जीवन ज्योति नमुना मा.बि.रिममा हुने आधारभूत हाउस वाइरिङ तालिममा २१ जना, नेपाल राष्ट्रिय मा.बि किमुचौरमा हुने आधारभूत पलम्बिङ तालिममा २० जना, कालिका मा.बि. कपुरकोटमा हुने आधारभूत पेन्टर तालिममा ४० जना र भवानी मा.बि.छायानाथमा हुने आधारभूत डकर्मी तालिममा १८ जना विद्यार्थी सहभागी हुने छन् ।

  • १५ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech