६ जेष्ठ २०८१, आईतवार

नेपालगन्जमा फागुन अन्तिममा गरिदै नेपाल कल्चर फेस्टिवल

नेपालगन्ज रंगशालामा हुने फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने

  • न्युज मानसराेवर

नेपालगन्ज : आगामी फागुनको २४ र २५ गते नेपालगन्ज कल्चर फेस्टिवल हुने भएको छ । देशैभरको सँस्कृती एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले फेस्टिवल हुन लागेको हो । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाले सहकार्य गर्दैछन् ।

फेस्टिवलमा नेपाली मौलिक कला सँस्कृति, गीत संगीत, नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रबद्र्धन तथा प्रचार प्रसार गरिने परिकल्पनाकार एवम् अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

सुदुर पश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम सम्म, तराइको थारु र अवधि नृत्य÷गीत देखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा सँस्कृति झल्किने नृत्य, काठमाडौं उपत्यकाको नेवार सँस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाच सम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ ।

‘भाषा र सँंस्कृतिका अध्येताहरु, गीत र नृत्यका अध्येताहरु र चाडपर्व, रितिरिवाजका जानकारहरुबीच छलफल र विचार विमर्श हुनेछ,’ उनले भने ‘यो नेपाली गीत संगीत, नृत्य, भेषभुषा र सँस्कृति झल्काउने सम्भवतः नेपालकै ठूलो ईभेन्ट हो,’ उनले भने ।

बहु साँस्कृतिक, बहुभाषी सँस्कृति रहेको हाम्रो देशमा सयौं थरी नाच र गीत रहेका छन् । यसको प्रवद्र्धन अध्ययन अनुसन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ । कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु गहनाहरु लोपहुने अवस्थामा पूगेको, पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सवैखाले सँस्कृति र गीत संगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको हो ।

नेपालगन्ज रंगशालामा हुने फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ ।  शास्त्रीय संगीत देखि पछिल्लो पुस्ताको पप रक सम्मको प्रस्तुती रहनेछ । स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

‘देश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिदै जान्छ,’ अन्तरालका कार्यकारी शाहले भने, ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगंजमा सिंगो नेपाल झल्किनेछ ।’

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech