१२ श्रावण २०८१, शनिबार

सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट : बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी 

तेश्रो दिन सोमबार पनि दुई खेल हुने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्।   आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्यो। लगातार दोश्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर-११ संग पराजित भएको थियो।

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १०८ रन मात्र बनायो।  एन्जिला पाठकले अविजित ४२ रन बनाएता पनि लुम्बिनीको जितको लागि पर्याप्त भएन। पाठकले ५६ बलमा ४ चौका प्रहार गरिन्। कप्तान आश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन योगदान दिए।

बागमतीको बलिंगमा बिपिशा शाहीले २ विकेट लिंदा क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले १/१ विकेट लिए।  टस जितेर ब्याटिंग गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा ११६ रन बनायो। बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाईन् जुन क्रममा उनले ३६ बलमा ३ चौका प्रहार गरे। ऐलि यादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाईन्। अतिरिक्तको रुपमा लुम्बिनीले २७ रन दियो।

लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल, आशमा पुलामी मगर र एन्जीला पाठकले १/१ विकेट हात पारिन्। खेलको प्लेयर अफ द म्याच बागमती प्रदेशकि सोनी पाख्रिन घोषित भईन्।  आजको दोश्रो खेलमा कोहलपुर मेयर-११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्यो। लगातार दोश्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो।

कोहलपुर मेयर-११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ६५ रन मात्र बनायो।गण्डकीको ब्याटिंगमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्।

कोहलपुर मेयर-११ को बलिंगमा दायाँ हाते फास्ट बलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिईन्। ४ ओभर बलिंग गर्दै रोयले २५ रन खर्चिन्। भवानी कमाती, प्रतिमा शाह, आरति महतो र रिया शर्माले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो।  मेयर-११ को लागि सिमा कुँवरले सर्वाधिक ३० रन योगदान दिईन् जुन क्रममा उनले ४४ बलमा ३ चौका प्रहार गरिन्।  लिशा यादवले २२ तथा साना प्रभिनले १० रन बनाईन्।

गण्डकीको बलिंगमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हात पारिन्। निरुताले ३.४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन्। कुसुम गोदार र आकृति तिवारीले १/१ विकेट हात पारिन्।   खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर-११ कि हैमवती रोय घोषित भईन्। प्रतियोगिता अन्तर्गत तेश्रो दिन सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९:३० बजे बागमती र सुदूरपश्चिम तथा दोश्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन्।

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech