१२ श्रावण २०८१, शनिबार

राष्ट्रपति रनिङ शिल्डमा बैजनाथका खेलाडीको उत्कृष्ट प्रर्दशन, उपाधि जित्न कडा प्रतिस्पर्धा

आफ्ना खेलाडीलाई हौसला दिन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही लगायत खेलकुद पदाधिकारीहरु शनिबार र आइतबार दिनभर प्रतियोगिता आयोजना स्थल नेपालगन्ज रंगशालामा

  • न्युज मानसराेवर

नेपालगन्ज : नेपालगन्जको रंगशालामा शनिबारबाट जारी ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बैजनाथ गाउँपालिकाले विभिन्न खेलहरुमा जित निकाल्न सफल भएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा भइरहेको उक्त प्रतियोगितामा हालसम्म बैजनाथले कराँतेतर्फ ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्न सफल भएको छ ।

तेक्वान्दोतर्फ छात्र र छात्राको विभिन्न ६ वटा विधामा भएका खेलमा कोहलपुर प्रथम, राप्ती सोनारी दोस्रो र बैजनाथले तेस्रो स्थान प्राप्त गर्न सफल भएको बाँके जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए । कराँते छात्रातर्फको ४० केजीमा बैजनाथकी अन्जना थारु तेस्रो भईन भने ४५ केजीतर्फ बैजनाथकी बबिता विक प्रथम हुन सफल भइन् ।

यस्तै छात्रा कराँते ५० केजीतर्फ बैजनाथकी सिता विक प्रथम ५५ केजीतर्फ छात्रा कराँतेमा कल्पना राना दोस्रो हुँदा ६० केजी कराँते छात्रातर्फ लक्ष्मि बुढाथोकी दोस्रो भइन् । यसैगरी कराँते छात्र ४२ केजीतर्फ बैजनाथ गाउँपालिकाका अभिषेक विकले दोस्रो स्थान प्राप्त गरे । भने कराँते छात्र ४७ केजीतर्फ समिर थारु र ५२ केजीतर्फ मेघराज विकले दोस्रो स्थान प्राप्त गरे ।

कराँते छात्र ५७ केजीतर्फ बैजनाथका विशाल खत्रीले दोस्रो स्थान र कराँते छात्र ६२ केजीतर्फ प्रेम रम्तेल प्रथम भए । कराँतेकै काता छात्र विधामा बैजनाथका प्रेम रम्तेल दोस्रो स्थान हाँसिल गर्न सफल भए । भने काता छात्रातर्फ बैजनाथकी बविता विक प्रथम भइन् ।

यसैगरी ४×१०० रिले छात्रातर्फ बैजनाथले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । ४×१०० रिले छात्रतर्फ भने बैजनाथका खेलाडी दौडमा लडेपछि उपाधि चुम्न सकेन । छात्र १५०० मिटर दौडतर्फ कुनै पनि उपाधि जित्न नसकेको बैजानाथले छात्र १०० मिटरतर्फ दौडमा मनोज विक प्रथम हुँदा बैजनाथकै पुरन थापा दोस्रो भए । छात्रा १०० मिटर र छात्रा ४०० मिटर दौडतर्फ बैजनाथले कुनैपनि उपाधि जित्न सकेन । छात्र लङजम्पतर्फ बैजनाथका यूवराज खत्रीले दोस्रो स्थान प्राप्त गर्दा छात्रा लङजम्पतर्फ बैजनाथकी रेणु विएम तेस्रो भईन ।

छात्रा शटपटतर्फ बैजनाथकी अस्मिता महतराले तेस्रो स्थान प्राप्त गरिन भने छात्र शटपटतर्फ बैजनाथका अमित सिंह दोस्रो भए । कबड्डी छात्र र छात्रातर्फ बैजनाथ गाउँपालिकाले तेस्रो स्थान ओगट्न सफल भयो । छात्र भलिबलतर्फ तेस्रो भएको बैजनाथले छात्रातर्फको भलिबलमा उपाधि चुम्न सकेन ।

त्यस्तै प्रतियोगिता अन्र्तगत आईतबार सम्पन्न हाईजम्प छात्रातर्फ बैजनाथकी मनिषा थारुले तेस्रो स्थान प्राप्त गरिन् । भने छात्रतर्फ हाईजम्पमा कुनैपनि उपाधि जित्न सकेन । यस्तै ४०० मिटर छात्रतर्फको दौड, ८०० मिटर छात्र दौड, ज्याभलिङ छात्र छात्रामा कुनैपनि उपाधि चुम्न सकेन ।

आफ्ना खेलाडीलाई हौसला दिन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही लगायत खेलकुद पदाधिकारीहरु शनिबार र आइतबार दिनभर प्रतियोगिता आयोजना स्थल नेपालगन्ज रंगशालामा खटिएका छन् । ‘हाम्रो उपस्थितीले पनि खेलाडीलाई हौसला मिल्छ, त्यसकारण मैले प्रतियोगिता सुरु भएको दिनदेखी नै विशेष समय दिएको छु,’ अध्यक्ष शाहीले भने ।

प्रतियोगितामा सोमबार  हुने ४×४ रिले, २०० मिटर, ३००० मिटर र त्रिपल जम्पका छात्र र छात्राका खेल बैजनाथले उपाधि जित्ने रणनीति बनाएको बैजनाथ गाउँपालिका खेलकुद विकास समितिका संयोजक महाबीर थारुले बताए । प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाएका छन् ।

जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउने छन् ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech