५ जेष्ठ २०८१, शनिबार

कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतीको लागि चिन्तित छु : राठौंर

कोहलपुर क्रिकेट मैदान लुम्विनी प्रदेशको पहिचान

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतीका लागि आफ्नो तर्फबाट पहलको प्रतिबद्धता जनाएका छन् । उनले आफु यस क्षेत्रको खेलमा समेत निकै संबेदनशिल भएको उल्लेख गर्दै कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतीको लागि चिन्तित रहेको समेत जिकिर गरे ।

कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा बुधवारदेखि कोहलपुरमा सुरु भएको छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रलाई सम्वोधन गर्दै राठोरले कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतीसँगै नेपालगन्जमा पनि थप क्रिकेट मैदानका लागि आफुले पहल गरिरहेको बताए ।

कुनै बेला महिला क्रिकेटरको उर्वर भूमिका रुपमा चिनिएको बाँकेमा अहिले महिला क्रिकेटरको अभाव भएको पाइएको भन्दै उनले विद्यालय स्तरीय यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे । पछिल्लो समय युवाहरु विभिन्न दुव्र्यसनमा फसेको स्मरण गरेका उनले यस्ता प्रतियोगिताले अनुशासित र स्वस्थ राख्न पनि सहयोग पुर्याउने धारणा व्यक्त गरे । बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित राठौंरले खेलकुद क्षेत्रमा कोहलपुर नगरपालिकाले गरिरहेको लगानीप्रति प्रशंसा व्यक्त गरेका थिए ।

यसैगरी लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारुले कोहलपुर क्रिकेट मैदान लुम्विनी प्रदेशको पहिचानसँग पनि जोडिएकाले यसको स्तरोन्नती र संरक्षण जरुरी रहेको बताइन् । उनले महिला क्रिकेटरको पहिचान कोहलपुर क्रिकेट मैदानसँग जोडिएकाले पनि यसको संरक्षण, सम्वर्धन र प्रवर्धनमा आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाइन् ।  उनले महिला क्रिकेटरहरुको उत्पादन र भएका खेलाडीहरुलाई समेत संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण समेत गराइन् ।

यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा पूर्व कप्तान एलवी क्षेत्रीयले बाँकेको पहिचानसँग जोडिएको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको व्यवस्थापनमा संघीय सरकारलाई दवाव दिन राठौंरको ध्यानाकर्षण गराए । उनले एउटा इतिहास जोडिएको संरचनाले पूर्णता पाए खेलाडीहरुमा उत्साह थपिने स्मरण गराए । पछिल्लो समय क्रिकेट मैदानमा खेलकुदका गतिविधिहरुलाई बढाउँदै नगरपालिकाले मैदानको उपयोगिता पुष्टि गर्दै आएको भन्दै धन्यवाद समेत दिए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले महिला क्रिकेटरहरु उत्पादनका लागि प्रतियोगिता उपयोगी हुनेमा जोड दिइन् । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, खेलकुदकर्मी लगायतको उपस्थिति रहेको थियो । ९ दिनसम्म चल्ने प्रतियोगितामा सामुदायिक र संस्थागतगरी १८ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech