५ जेष्ठ २०८१, शनिबार

दाङ क्रिकेट लिग : दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा
  • न्युज मानसराेवर

घोराही:दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो सस्करणको फाइनल प्रवेश गरेका छन्। घोराही स्थित घोराही क्रिकेट स्टेडियममा आज सम्पन्न दुई खेलमा घोराहीले देउखुरी वारियर्सलाई तथा तुलसीपुरले घोराही टाइगर्सलाई पराजित गर्यो। लिगको उपाधिको लागि शनिवार दंगाली लायन्स र तुलसीपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणको सम्पूर्ण खेल समाप्त हुँदा तुलसीपुर रोयल्स सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंक सहित शिर्ष स्थानमा रह्यो। दोश्रो स्थानमा रहेको दंगाली लायन्सले ४ खेलमा ३ जित र १ हार दर्ता गर्यो। घोराही टाइगर्स ४ अंक सहित तेश्रो, पुरनधारा च्यालेन्जर्स २ अंक सहित चौंथो तथा सबै ४ खेलमा पराजित देउखुरी अंकविहिन रहँदै पाँचौ स्थानमा रह्यो।

आजको पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्यो। देउखुरीले दिएको १२६ रनको लक्ष्य दंगालीले ४ विकेट गुमाएर १८.४ ओभरमा भेटायो। दंगाली लायन्सको लागि ओपनर शंकर रानाले अविजित ६७ रन योगदान दिए। प्लेयर अफ द म्याच घोषित रानाले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। बसिर अहमदले २५, शिशिर डाँगीले अविजित १७ रन बनाए। तेश्रो विकेटको लागि शंकर र बसिरले ६१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

देउखुरीका विशाल विक्रम केसीले २ तथा सुभम खनाल र प्रज्वल थापाले १/१ विकेट लिए।यस अघि टस जितेर ब्याटिंग गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो।

देउखुरीको लागि ओपनर विशाल विक्रम केसीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यसतै आवाज गौतमले अविजित १७ रन, आशिष ओली र थमन ओलीले समान १५ रन तथा सुभम खनालले अविजित १० रन योगदान दिए।

बलिंगतर्फ दंगाली लायन्सका बसिर अहमदले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। शंकर रानाले २ तथा बिपिन खत्री, बिर बहादुर घर्ति मगर र प्रकाश जैसीले १/१ विकेट लिए। आजको दोश्रो खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित गर्यो।

फाइनल पुग्न घोराहीले १५१ रनको लक्ष्य ११.३ ओभरमा पछ्याउनु पर्ने समीकरण थियो। तर घोराहीले २० ओभर ब्याटिंग गर्दा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।

घोराहीको लागि दिपेश कंडेलले सर्वाधिक २४ रन, सुशान्त सिंह थापाले २२ रन, युनिस विक्रम सिंहले १७ तथा रबिन थापाले १३ रन योगदान दिएता पनि जित्न पर्याप्त भएन। तुलसीपुर रोयल्सको बलिंगमा अमर सिंह रौटेला र नबिन बिकले २/२ तथा रुपेश सिंह, दिवान पुन र बिराट सिंह भण्डारीले १/१ विकेट लिए।  यस अघि टस हारेर ब्याटिंग गरेको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो।

तुलसीपुरको लागि शंकर बुढाले सर्वाधिक ४३ रन बनाए जुन क्रममा २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। बिपिन रावल ४६ बलमा ३१ तथा अमर सिंह रौटेलाले १४ बलमा ३० रन बनाए। रौटेलाले २ चौका र ३ छक्का प्रहार गरे। भुवन कार्कीले १३ रन बनाए।

घोराही टाइगर्सको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए। मिलन बुढाथोकीले २ तथा रबिन थापा र युनिष विक्रम सिंहले १/१ विकेट लिए।  खेलको प्लेयर अफ द म्याच अमर सिंह रौटेला घोषित भए।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech