६ जेष्ठ २०८१, आईतवार

मौसम प्रतिकुलताले स्थगित ज्योतीकोे धमाका आज नेपालगञ्जको वाटरपार्कमा
  • न्युज मानसराेवर

नेपालगन्ज: नेपालगन्जको वाटरपार्कमा मंगलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको दोस्रो दिन ज्योती मगर लगायत कलाकारको प्रस्तुती प्रतिकुल मौसमका कारण हुन नसकेपछि आज बिहीबार ज्योती मगरको बेजोड प्रस्तुती रहने भएको छ ।

प्रतिकुल मौसमका कारण बुधबार ज्योती मगरसहितका राष्ट्रिय कलाकारको प्रस्तुती हुने पूर्वनिर्धारित कार्यक्रम बिहीबार हुने भएको आयोजकले जनाएको छ । बुधबार स्थानीय कलाकारले आफ्नो प्रस्तु्ती मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अनुसार बुधबारको पूर्वनिर्धारित सबै कलाकारहरुको प्रस्तुती आज बिहीबार हुनेछ ।

बिहीबार विहान ११ बजेदेखि स्थानीय कलाकारको प्रस्तुती रहनेछ भने दिउँसो २ बजेपछि राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको तेस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिए ।

ज्याती मगरका साथ तेस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ, भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले उक्त कार्यक्रमको सञ्चालन गर्नेछन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति  ‘महिला उद्यमी समिति’ बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाह आउने आयोजकले बताएको छ ।

  • ८ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech