१५ बैशाख २०८१, शनिबार

नेपालगञ्जमा घर-घर पुगेर पशुलाई ‘भ्याक्सिन’
  • न्युज मानसराेवर

नेपालगन्ज:  नेपालगञ्ज उपमहानगरपालिकाले घर-घरमा पुगेर पशुलाई ‘भ्याक्सिन’ लगाएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाको पशु शाखाले नगरका सबै वडामा घर-घरमै पुगेर भ्याक्सिन लगाउने अभियान थालेको हो । आज वडा नम्बर १८ का घर-घरमा पुगेर पशुलाई भ्याक्सिन लगाइएको छ । उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले वडा नम्बर १८ को अभियानको उद्घाटन गरेका थिए ।

पशु शाखा प्रमुख लक्ष्मी चन्दका अनुसार पीपीआर, खोरेत, भ्यागुते र स्वाइनफिवर विरुद्धका भ्याक्सिन लगाइएको छ । पीपीआर २५ हजार, खोरेत २० हजार, भ्यागुते १५ हजार र स्वाइनफिवरको एक हजार डोज लगाउने लक्ष्य रहेको छ ।

उपमहानगरपालिकाले घर-घरमा गएर भ्याक्सिन लगाउनका लागि तीन जना भ्याक्सिनेटर र तीन जना सहयोगी नियुक्त गरेको छ । दिनेश विश्वकर्मा, हिरालाल अहिर र शिशराम यादवले भ्याक्सिन लगाइरहेका छन् । सबै वडाका प्रत्येक घर-घरमा पुगेर पशुलाई भ्याक्सिन लगाउने काम भइरहेको छ ।

पशु शाखा प्रमुख चन्दले वडा नम्बर १३, १४, १७, १९,२०, २१, २२ र २३ मा भ्याक्सिन लगाउने काम सकिएको जानकारी दिइन् । पशुमा कुनै पनि बेला पीपीआर, खोरेत, भ्यागुते र स्वाइनफिवर फैलिन सक्ने भएकाले उपमहानगरपालिकाले यी रोगविरुद्ध भ्याक्सिन लगाएको हो । वडा नम्बर १८ को भ्याक्सिन अभियानको उद्घाटनमा उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी लगायतको उपस्थिति रहेको थियो ।

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech