५ जेष्ठ २०८१, शनिबार

माओवादीको नेतृत्वमा लुम्बिनीमा सरकार बन्ने
  • न्युज मानसराेवर

बाँके\नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारको नेतृत्व फेरिने भएको छ। लुम्बिनी प्रदेशमा केन्द्रीय सहमतिअनुसार नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने निश्चित भएको हो।

केन्द्रमा सत्ता गठबन्धनका चार दलबीच प्रदेशहरूको बाँडफाटमा लुम्बिनी प्रदेश माओवादी केन्द्रको भागमा परेको हो। माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन्।

नयाँ गठबन्धनले सरकारको नेतृत्वका लागि छलफल सुरु गरेको नेकपा माओवादी केन्द्र लुम्बिनी अध्यक्ष सुदर्शन बरालले बताए। ‘केन्द्रीय सहमतिअनुसार माओवादीको नेतृत्वमा सरकार बनाउन छलफल सुरु भइसकेको छ, भोलि (बुधबार) सम्ममा हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाउने तयारी छ,’ उनले भने।

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको हो।

सोही सहमति अनुसार प्रदेशमा छलफल अगाडि बढेको छ। लुम्बिनीमा संख्याको हिसाबले नेकपा एमाले प्रमुख दल भएको भन्दै नेताहरूले असन्तुष्टि पोखेका छन्। तर केन्द्रीय सहमतिअनुसारनै अगाडि बढ्ने नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए। ‘कसको भागमा पर्‍यो भन्ने विषय गौण हो, सहमतिअनुसार नयाँ गठबन्धनको सरकार बन्छ,’ उनले भने।

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech