१८ बैशाख २०८१, मंगलवार

आज आइतबारदेखि भर्ना अभियान सुरु

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नयाँ शैक्षिकसत्रका लागि आज आइतबारदेखि भर्ना अभियान सुरु हुँदैछ । संस्थागत विद्यालयहरुले यसअघि नै मटेश्वरी–नसरीदेखि कक्षा नौसम्मका लागि यसअघि नै भर्ना खुला गरिसकेका छन् । सामुदायिक विद्यालयहरुले आज औपचारिक रुपमा कक्षा १ देखि भर्ना अभियान सुरु गर्दैछन् ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक धारा ३१ कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

विद्यालय जाने समूहका बालबालिकालाई विद्यालयसम्मको पहुँच पुर्याउनका लागि भर्ना अभियान सञ्चालन हुने गरेको छ । अभियान अन्तर्गत केन्द्रदेखि स्थानीय तह र विद्यालयहरु विद्यार्थी भर्नामा सक्रिय हुने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उपसचिव गोर्ख बहादुर थापाले भर्ना अभियान अन्तर्गत सोमबार विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल कार्यक्रम राखेको जानकारी दिए । ‘केन्द्रबाट तोकिए अनुसार कार्यक्रम यहाँ पनि सञ्चालन हुन्छ’, उनले भने ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

सामुदायिक विद्यालय केन्द्रित हुने भर्ना अभियान अन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशन अनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थाल्ने केन्द्रीय कार्यक्रम रहेको छ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ ।

अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोशाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको  रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन ।

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech