१७ बैशाख २०८१, सोमबार

नेपालगञ्जमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण !

सचेतना प्रबद्र्धनको अभियानसंगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई सचेतना प्रबद्र्धनको अभियानसंगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने अगाडि बढाउने

  • न्युज मानसराेवर

नेपालगञ्ज:  नेपालगञ्ज उपमहानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ बर्ष २०८१ को प्रारम्भसंगै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानकै रुपमा अगाडि बढाइएको हो ।

पहिलो चरणमा सचेतना प्रबद्र्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत विक्रि वितरण, सार्वजनिक ठाउँहरुमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउने नगर प्रमुख विष्टको भनाई छ ।

सचेतना प्रबद्र्धनको अभियानसंगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ बमोजिम कारवाही गरिने स्पष्ट पारे ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज विहान प्रभातफेरी गरेर अभियानको औपचारिक थालनी गरेको छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको हो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुल बहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको पनि उपस्थिति थियो ।

प्रभातफेरी पश्चात आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरबासीको साथ आवश्यक रहेको बताए । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वतःस्फूर्त धुम्रपान र सुर्तीजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उनीहरुको जोड छ । यो अभियानमा नेपालगञ्ज जेसिजले पनि सहकार्य गरेको छ ।

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगहरुको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech