१८ बैशाख २०८१, मंगलवार

नेपालगन्जको सरस्वती संगितालय पुनः सञ्चालनमा
  • न्युज मानसराेवर

नेपालगन्ज:बाँकेका एक जना वरिष्ठ कलाकारको सहयोगले २५ वर्षदेखि बन्द अवस्थामा रहेको नेपालगन्जको सरस्वती संगितालय पुनः सञ्चालनमा आएको छ। साधन र श्रोतको अभावमा लामो समयदेखि बन्द रहेको सो संगितालय सञ्चालनका लागि बाँकेका चित्रकार तथा वरिष्ठ कलाकार श्यामानन्द सिंहले आफ्नो निजी सङ्गीत सामग्रीहरू सङ्गीतालयलाई सहयोग गरेसँगै सङ्गीतालय सञ्चालनमा आएको हो ।

विगत २५ वर्षदेखि बन्द रहेको सङ्गितालय लाई स्थानीय कलाकार सिंहले आफूसँग रहेका सङ्गीत सामाग्री सहयोग गरेर सञ्चालनमा ल्याइएको सङ्गितालयका अध्यक्ष वीरेन्द्र बहादुर यादवले बताउनुभयो । पश्चिम नेपालको एकमात्र सङ्गीत सिकाउने केन्द्रको रूपमा रहेको सो सङ्गीतालय २०५४ साल देखि बन्द अवस्थामा रहेको सङ्गीतालयका अध्यक्ष यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार तत्कालीन अवस्थामा सङ्गितालय को अनवरत सेवा गरेका सङ्गीत प्रशिक्षक रमेश शर्मा र सुरेश शर्माको निधन भएपछि साधन श्रोत र सङ्गीत प्रशिक्षकको अभावमा सङ्गितालय बन्द भएको थियो ।

पुनः सञ्चालनमा आएको सङ्गीतालयको एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै उहाँले आगामी बजेटमा सङ्गीतालयका लागि बजेट विनियोजन गर्ने आश्वासन दिँदै यसलाई सदुपयोग गरेर यहाँबाट बढी भन्दा बढी सङ्गीतकारहरू जन्माउनु पर्नेमा जोड दिनुभयो ।

मेयर विष्टले नगरपालिकामा निर्माणाधीन रहेको सपिङ कम्प्लेक्समा सङ्गीतालयका सञ्चालनका लागि दुई वटा कोठा उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्दै उपमहानगरपालिकाले सङ्गीतालयको अभिभावकत्व ग्रहण गर्ने बताउनुभयो । यसैगरी सो सङ्गीतालयका पूर्व अध्यक्ष वीरेन्द्र बहादुर शाहले सङ्गीतालयलाई राम्रो बनाउनु र यहाँबाट राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरू उत्पादनका लागि आ–आफ्नो स्थानबाट सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । बाँकेका वरिष्ठ कलाकार सुन्दर गुरुङले सरस्वती सङ्गीतालय बन्द हुँदा नयाँ-नयाँ प्रतिभाहरू उत्पादनमा ठुलो समस्या भएकोले अब यो सञ्चालनमा आएकोले धेरै नवप्रतिभाहरू भेटिने विश्वास व्यक्त गर्नुभयो ।

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech