१९ बैशाख २०८१, बुधबार

लुम्बिनी प्रदेशमा एमाले बाँकेका रत्न खत्री सहित ५ जना मन्त्रीहरुको नाम टुंगोमा

खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

एमाले स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन् । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन् ।

महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  माओवादीबाट थप एक जना बाँकेकी कृष्णा केसी मन्त्री बन्ने स्रोतले जनाएको छ । केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । तर सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने टुंगो लागेको छैन ।

लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ । यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष  अशोक यादवले बताए । तर, सरकारका प्रवक्ता दीपेन्द्र पुनले भने आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने र सांझ शपथग्रहण हुने बताए ।

‘तीनजना विना विभागीय मन्त्रीले आजै मात्र आआफ्नो मन्त्रालयको जिम्मा पायौं,  अरु दलबाट पनि मन्त्री हुनेको टुंगो लागेपछि आज साँझ ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ’,प्रवक्ता पुनले भने, ‘स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि मन्त्रीको शपथ लिनुहुन्छ, एकीकृत समाजवादीको टुंगो लागेको छैन, जहाँसम्म आउनुहुन्छ होला ।’

एकीकृत समाजवादीबाट प्रदेश सभामा रुपन्देहीकी भगवती अधिकारी मात्रै सांसद छन् । मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो । सहमतिअनुसार पार्टीलाई सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नगरिएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले बताए ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech