२७ बैशाख २०८१, बिहीबार

नेपालगन्जमा सोमबार मिस नेपाल २०२४ को अडिसन हुदै

प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क तिनुपर्ने छैन

  • न्युज मानसराेवर

नेपालगन्ज : नेपालगन्जमा मिस नेपाल २०२४ को अडिसन सोमबार हुन लागेको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मिस नेपाल २०२४ को नेपालगन्ज अडिसन हुन लागेको जानकारी दिएको हो ।

मिस नेपालको टोली शनिबार नेपालगन्ज आइपुगेको छ । अडिसन गत शुक्रबार भरतपुरबाट सुरु भएको थियो । नेपालगन्जको होटल सिद्धार्थमा हुने अडिसनमा सहभागी हुन ईच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । देशका प्रमुख सहरमा अडिसन गरिरहेको हिडन ट्रेजरले प्रतियोगितालाई फराकिलो बनाउँदै यसपटक बिर्तामोड, ईटहरी, बीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, सुर्खेत, पोखरा र अन्त्यमा काठमाण्डौंमा अडिसन गर्ने तयारी रहेको छ ।

क्षेत्रीय अडिसनमा मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान र मिस नेपाल सुपरानेशनल २०२० सिमाल कनोजिया सहभागी हुनेछन् । मिस नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी साउन १९ गते गोदावरी स्थित सनराईज कन्भेन्सन सेन्टरमा हुनेछ । ग्राण्ड फिनालेको प्रत्येक्ष प्रशारण कान्तिपुर टिभीबाट हुनेछ ।

मिस नेपाल २०२४ का लागि न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ वर्षदेखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित इच्छुक युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रजरका एडमिन राजभाई सुवालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क तिनुपर्ने छैन ।

नेपालगन्ज अडिसनका लागि आईतबार दिउँसो साढे ३ बजे होटल सिद्धार्थ अडिसनमा सहभागीलाई प्रशिक्षण दिइनेछ, भने भोलीपल्ट सोमबार बिहान ९ बजेदेखि नेपालगन्ज अडिसन हुनेछ । पत्रकार सम्मेलनमा नेपालगन्ज अडिसनका संयोजक जेसी बिमला श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, मिस नेपाल सुरानेशनल सिमाल कनोजिया, द हिडेन ट्रेजरका राजभाई सुवाल लगायत उपस्थित भएका थिए ।

  • ९ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech