२१ बैशाख २०८१, शुक्रबार

लोकतन्त्रका १८ बर्ष : राजनीति फेरीयो, फेरीएनन सहिद सेतु विक परिवारका दिनदशा

देशमा नेताहरूले गरेको कामबाट सहित विकका पति लालबहादुर असन्तुष्ट

  • न्युज मानसराेवर

खजुरा,बाँके: बाँकेको खजुरा गाउँपालिका–३ मा रहेको ‘बी ब्लक’स्थित ऐलानी जग्गामा सहिद सेतु विश्वकर्माका श्रीमान् लालबहादुर बस्ने अर्धकच्ची घर छ । दुई वटा कोठा रहेको उक्त घरमा लालबहादुर नेपाली एकातिरको कोठामा बस्छन् भने अर्को कोठामा माइला छोरा सागरको परिवार बस्छन् ।

५१ वर्षीय लालबहादुर दैनिक गुजारा चलाउन अटो चलाउँछन् । बिहानदेखि साँझसम्म अटो चलाउँदा तेल र मर्मत खर्च कटाएर ७/८ सय रुपैयाँ बच्ने उनको भनाइ छ । त्यो रकमबाट दुई छाक टार्ने र कान्छा छोरा सुमनको पढाइ खर्च जसोतसो धान्ने उनले बताए । सहिद सेतुका तीन छोरा छन् । जेठा र माइला छोरा भारततिर काम गर्दछन् । यहाँ माइला छोरा सागरकी श्रीमती र छोरी छन् । उनीहरू लालबहादुर बस्ने घरमै बस्दै आएका छन् ।

कान्छा छोरा सुमन सुर्खेतमा बसेर पढ्ने गरेका छन् । कक्षा ११ मा पढ्ने सुमनलाई यहाँबाट लालबहादुरले अटो चलाएर बचेको पैसा बेला बेलामा पठाउने गर्दछन् । सहिद परिवारलाई पढ्न मासिक २ हजार रकम पाउने गरे पनि त्यो रकमले कोठा भाडा तिर्न पुग्ने लालबहादुरले बताए ।

लालबहादुर भारतमा भएको बेला नेपालमा २०६२/०६३ को जनआन्दोलन चर्किएको थियो । त्यही बेलामा सेतु विश्वकर्मा बाँकेको खजुराबाट ट्याक्टरमा चढेर दैनिक नेपालगन्जमा हुने आन्दोलनमा सहभागी हुन आउने गरेकी थिइन् । २०६३ वैशाख ५ गते सेतु सधैँ झैँ ट्याक्टर चढेर खजुराबाट आन्दोलनमा भाग लिन नेपालगन्ज आएकी थिइन् । त्यो दिन उनी अग्रपंक्तिमा बसेर गणतन्त्रको पक्षमा नारा लगाइरहेकी थिइन् ।

आन्दोलनकारीको जुलुस नेपालगन्जको ज्ञानेन्द्र चोकमा पुगेपछि प्रहरी र आन्दोलनकारी बिच झडप भयो । यस क्रममा तीन दर्जनभन्दा बढी घाइते भए । केहीलाई गोली लाग्यो, अग्रपंक्तिमा रहेको बेलामा सेतु विश्वकर्माको छातीमा अश्रुग्याँसको सेल लाग्यो । उनी बेहोस भइन् ।

उपचारका लागि नेपालगन्जबाट भारतको लखनउ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो । वैशाख ६ गते बसेको सात दलको बैठकले सेतुलाई सहिद घोषणा गरेको नेपालगन्जका नेपाली कांग्रेस नेता एवं लुम्बिनी प्रदेशका पूर्ववनमन्त्री सुरेन्द्र हमालले बताए । नेपालगन्जको न्युरोडमा सहिद सेतु विश्वकर्माको सालिक निर्माण गरिएको छ । बाँकेको खजुरा गाउँपालिकाले पनि धनौलीमा सहिद सेतु विक गेट निर्माण गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले धनौलीदेखि वडा नम्बर ३ मा पर्ने सेतुको विकको घरसम्मको सडकलाई सहिद सेतु विक मार्ग नामकरण गरिएको बताए ।

लालबहादुरले आफूलाई पछिल्लो समय सुगर रोगले च्याप्दै गएको बताउँदै बाध्यताले अटो चलाएर गुजारा चलाउनु परेको गुनासो गरे । रोग लाग्दा, हातखुट्टा नचल्दा हेर्ने कोही पनि नभएको उनको भनाइ छ ।

बेलाबेला सहिद परिवार भन्दै नेताहरू घरमा आउने, तस्बिर खिच्ने गरे पनि न देशमा राम्रो काम भएको, न त सहिद परिवारलाई हेरेको उनी बताउँछन् । अहिले देशमा नेताहरूले गरेको कामबाट आफूलाई चित्त नबुझेको उनले बताए ।

 

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech