४ जेष्ठ २०८१, शुक्रबार

बहुद्देश्यीय जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा अधिकारी

घर घरमा घर दैलो गरेर विश्वास आर्जन गर्न सकिए सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने

  • न्युज मानसराेवर

नेपालगन्ज:बहुद्देश्यीय सहकारीहरूको छाता संगठन बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगन्ज, बाँकेको आठौं र नवौं बार्षिक साधारण सभा बुधबार आयोजना गरिएको छ ।

बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भूपेन्द्र प्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि कोहलपुर सहकारी संस्था लि.का अध्यक्ष पारस नाथ थारुले आफ्नो सिद्धान्तले अगाडि बढ्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्ने बताए । उनले भने, ‘नीति परिर्वतन गरौं हामीले सहयोग गर्छौं । बाहिरको तत्वहरूले नडराउँ, सही तरीकाले काम गरौंं ।’

ऋषिराज चौधरीले सञ्चालन गरेका कार्यक्रममा राष्ट्रिय सहकारी संघ बाँकेका प्रमुख प्रकाश थपलिया, जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्र बहादुर चन्द, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम बहादुर शाहले शेयर सदस्यहरूको घर घरमा घर दैलो गरेर विश्वास आर्जन गर्न सकिए सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने बताए । उनीहरूले ऋणिलाई निराश नपार्न, एउटै वडामा धेरै सहकारी रहे मर्ज गरेर सहकारी राम्रो बनाउन सुझाव दिए ।

अध्यक्ष भूपेन्द्र अधिकारीले संघको बारेमा र अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन सचिव हरि चालिसेले प्रस्तुत गरेका थिए । कार्यक्रममा बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड सञ्चालक समितिका सदस्य माया गौतमले स्वागत मन्तव्य राखिन् ।

संस्थाको अधिवेशनबाट ४ वर्ष कार्यकालका लागि पुनः भूपेन्द्र प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा शान्ता बिष्ट, सचिवमा हरि चालिसे, कोषाध्यक्षमा माया गौतम निर्विरोध निर्वाचित भएका छन् ।

संघको सदस्यहरूमा बीरेन्द्र सुवेदी, पुष्पराज हमाल, उमा थापा, तेज बहादुर रावल, बहादुर केसी पनि निर्विरोध निर्वाचित भएका छन् भने लेखा समितिको संयोजकमा डुनेन्द्र गोसाई, सदस्यद्वयमा बिनोद सामान्त, चित्रा चन्द पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन सम्पन्न गराउनका जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्र बहादुर चन्द निर्वाचन अधिकृतको जिम्मेवारी निभाएका थिए ।

बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगन्ज, बाँकेमा ७८ वटा सहकारी आवद्ध रहेका छन् । सहकारीका प्रतिनिधि लगायत ८० जनाको सहभागिता रहेको थियो ।

  • २० बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech