४ जेष्ठ २०८१, शुक्रबार

मेडिकल सिटी नेपालगन्जमा नै धेरै सुत्केरीको मृत्यु
  • न्युज मानसराेवर

नेपालगन्ज:  बाँकेमा चालू आर्थिक वर्षमा १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालू आर्थिक वर्षको हालसम्म मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् ।

नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ नै सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । घर नजिककै ठूल्ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेकी आमा सुरक्षा कार्यक्रम फोकल पर्सन विष्णु श्रेष्ठले पहिला सुत्केरी हुनु अघि मृत्यु हुने गरेकोमा अहिले सुत्केरी भइसकेपछि मृत्यु भइरहेको जानकारी दिनुभयो । बच्चा पाएको ४२ दिनसम्मको अवधिलाई सुत्केरी भनिन्छ  । यो बीचमा चार पटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठले बताउनुभयो ।

जिल्लामा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलोपटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौँमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको छ । परिवार नियोजन, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारितासम्बन्धि अन्तरक्रियामा उक्त जानकारी दिइएको थियो ।

  • २० बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech