६ जेष्ठ २०८१, आईतवार

नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने ‘कुख्यात तस्कर’ भौकी पक्राउ
  • न्युज मानसराेवर

नेपालगन्ज : नेपालगन्ज नाकामा अबैध कारोबार गर्ने ‘कुख्यात तस्कर’ भौकी भनिने अमिर अहमद जोलाहालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । केहीदिन अघि नेपालगन्जको जैसपुरमा रहेको जोलाहाको गोदाममा बाँके प्रहरीले छापा मारेर लाखौं मुल्य बराबरको अबैध सामान बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार उक्त सामानलाई प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । छापा मार्न प्रहरीलाई सूचना दिएको आरोप लगाउँदै तस्कर भौकी भनिने अमिर अहमदले मंगलबार राती स्थानीय मोहम्मद इरफान जोलाहालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । सोही आरोपमा पक्राउ गरी उनीमाथी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको डिएसपी डाँगीले जानकारी दिए ।

पीडित इरफानले दिएको जाहेरीका आधारमा पक्राउ गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको उनले बताए । पीडितले आफुलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका छन् । उजुरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीकै सामुन्ने पीडित इरफानमाथी ‘छोटा भौकी’ भनिने भौकीका भाई समिर अहमद जोलाहाले कुटपिट गरेका थिए ।

कुटपिट गरेको आरोपमा भाई समिरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । ‘भौकी’ ले लामो समयदेखी नेपालगन्ज नाकालाई आधार बनाएर तस्करी गर्दै आएको सुरक्षा स्रोतले जनाएको छ । राजनीतिक नेताको आडमा तस्करी गर्दै आएका उनले प्रहरी प्रशासन र भन्सार कर्मचारीलाई समेत प्रभावमा पार्ने गरेको बताइन्छ ।

 

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech