काठमाडौं:  एमएनएम डटकमका सम्पादक मदन रिजाल ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१’ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ स्थापनाको रजत वर्षको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुसालले संयुक्त रूपमा सम्पादक रिजाललाई पुरस्कार र सम्मान गरेका हुन् ।

झन्डै डेढ दशकदेखि रंग पत्रकारितामा कलम चलाउँदै आएका रिजाल उम्दा पत्रकार हुन् । कलमसँगसँगै उनी राम्रो भिजे र आरजे पनि हुन् । पछिल्लो समय एमएनएममा उनले कलाकारसँग लिएका अन्तर्वार्ता निकै रुचाइएका छन् । रिजालले रेडियो एफएमबाट पत्रकारिता सुरु गरेका हुन् । आरआर क्याम्पसबाट पत्रकारितामा स्नातक गरेका रिजाल हाल केन्द्रीय क्याम्पस कीर्तिपुरमा पत्रकारितामा मास्टर्स गरिरहेका छन् ।