१२ श्रावण २०८१, शनिबार

सहकारी प्रकरणको संसदीय छानबिन समितिले कहिलेबाट काम थाल्छ ?
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ। सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको संयोजक थापाले बताए। संसदीय समितिका लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले बताए।

उनले भने, ‘जनशक्ति र कार्यालयको व्यवस्थापन भएपछि समितिले काम थाल्छ। सम्भवतः हामी आइतबारदेखि नै काम थाल्नेगरी तयारीमा जुटेका छौं। आवश्यक बन्दोबस्त मिलाइदिन सभामुख समक्ष आग्रह गरेका छौँ।’सिंहदरबारभित्रै कार्यालय कायम हुने समेत थापाको भनाइ छ।

सहकारी ठगी प्रकरणमा छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित उनको नाम लेख्नुपर्ने अडानबाट पछि हटेपछि संसदीय छानविन समिति गठन भएको हो। समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सांसद राखिएको छ।

समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापाक्षेत्री र सरिता भुषाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ। संसदीय समितिलाई आवश्यक छानबिन गरि प्रतिवेदन बुझाउन तीन महिनाको अवधि दिइएको छ।

  • १९ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • Nabintech