१२ श्रावण २०८१, शनिबार

बाँकेमा क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
  •  रासस  

बाँके\बाँकेको नेपालगन्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगन्ज उपमहानगरपालिका(२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगन्जको आयोजना एवम् उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।

उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा।इन्द्रनील घोषले पाठेघरको मुख नियमितरुपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताए। पाठेघरमा घाउ भएनभएको जाँच गरिने डा.घोषले जानकारी गराए। क्यान्सर हुनुभन्दा पहिले घाउ निको बनाउन सके क्यान्सरको जोखिम टर्ने उनले भने। गर्भवती र महिनावारी भएका बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा।घोषले २४ देखि ६५ वर्षका महिलाले पाठेघर जाँच गराउनुपर्ने सुझाव समेत दिए।

कान्ति आरोग्य अस्पतालका डा.रोमा बोराले नियमित पाठेघरको जाँच गराउन आग्रह गरे ।शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजेटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। सरकारले क्यान्सर रोगका बिरामीलाई उपचार खर्चका लागि एक लाख र लुम्बिनी प्रदेश सरकारले दुई लाख दिँदै आएको छ । यस्तै बिरामीलाई जीविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार दिने गरिएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आइएको छ । शिविरमा भेरी अस्पतालका मेडिकल अधिकृत डा.समीक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाका सिनियर अनमी निरीक्षक प्रेमकुमारी बिसीले जानकारी गराए।

चालु आवमा सात वडामा शिविर सञ्चालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम बमोजिम वडा नम्बर २३ र २२ मा शिविर सम्पन्न भएको छ । वडा नम्बर २३ मा बिहीबार गरिएको शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको जाँच गरिएको छ । तीमध्ये एक जनामा पोजेटिभ देखिएको बताइएको छ ।

  • २६ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • Nabintech