११ श्रावण २०८१, शुक्रबार

नेपालगञ्जमा रहेको रानी तलाउको कन्त विजोग
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:करिब दुईसय वर्ष पुरानो ऐतिहासिक धरोहर नेपालगञ्जमा रहेको रानी ताल संरक्षण अभावमा अहिले कन्त विजोगको अवस्थामा पुगेको छ । रानी तलाउको जिर्णोद्वारपछि सुरुवातको वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहँदै आएकोमा संरक्षण र सम्वर्धनको अभावले सो ऐतिहासिक तलाउ अहिले पुनः जिर्ण बन्दै कन्त विजोगको अवस्थामा पुगेपछि तलाउमा पर्यटक आउनेक्रम पनि घट्दै गएको छ।

केही समयअघिसम्म पर्यटकले भरिभराउ हुने उक्त तलाउमा रहेको बोटिङ सेवा अहिले ठप्प हुनुकासाथै सरसफाइमा समेत कमी आएकाले पर्यटक आगमन घट्दै गएर सुनसान हुन थालेको स्थानीय वडा ८ का पूर्व वडा अध्यक्ष सुरेन्द्र गुप्ताले वताएका छन ।

उनले शहरको आकर्षण र पुरानो गहनाको रुपमा रहेको यो तालको अवस्था हेर्दा निकै दुःख लागेको जनाउँदै बिशेषगरी गर्मीको समय यो तलाउ नेपाली र भारतीय पर्यटकबाट भरिभराउ हुने गरेको जानकारी गराए । सौन्दर्यीकरण गर्न धेरै रकम लगानी गरिए पनि संरक्षण नहुँदा त्यहाँ रहेका चार वटा डुङ्गा कामै नलाग्ने अवस्थामा पुगेको र तलाउको पानी पनि अति फोहोर हुँदै गएको पूर्व वडा अध्यक्ष गुप्ताको गुनासो छ ।

बालबालिकालाई खेल्नका लागि तलाउ परिसरमा राखिएको झुला, चिप्लेटी लगायतका सामग्री बिग्रिएका छन् । संरक्षण अभावमा फूलबारी पनि जिर्ण बनेको छ । सरसफाइको अभावका कारण तलाउको पानी फोहर भएकाले सरसफाइ गरी संरक्षण गर्नुपर्ने स्थानीय युवा जावेद राईको माग छ।

नगरको मध्य भागमा रहेको र सबैलाई घरमफिरका लागि पुग्न पायक पर्ने यो तलाउको मर्मत सम्भार गरेर फेरि सञ्चालन गर्नुपर्ने आवश्यता भएको स्थानियवासिहरुको भनाई छ । सुरुवाती चरणमा करिब दुई बर्ष मात्र सो तलाउ राम्रोगरी सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोना पश्चात् तलाउ जिर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेजस्तै बनाउने योजना रहेको नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दिन राईले बताए ।

स्थानीयको अनुसार रानी तलाउमा सरसफाइको कमी, तालको पानी फोहर हुँदै गएको, बोटहरु जिर्ण भएर काम नलाग्ने भएका र बालबालिका खेल्ने सामग्रीहरु समेत बिग्रिएका कारण तत्काल जिर्णोद्वार आवश्यक छ । सरोकारवाला निकायले सो तलाउमा थप आकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियमित मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech