१२ श्रावण २०८१, शनिबार

टी-२० विश्वकप: इतिहास रच्ने यात्रामा नेपाल
  • न्युज मानसराेवर

१० वर्षपछि नेपालले टी–२० विश्वकप खेल्दैछ । यो सुखद् क्षणको प्रतिक्षा कति लामो भनेर क्रिकेट प्रेमीले मात्र भन्न सक्छन् ।  नेपाली क्रिकेटमा आएको सबै उतारचढाव पछि अन्तत: प्राप्त भएको यो अवसरले कति ऐतिहासिक बन्छ भन्ने कौतुहलता आम जनमानसमा देखिएको छ ।

१० वर्षअघि विश्वकपमा सहभागिता जनाएर कीर्तिमान राखे पनि त्यही सफलता पाउन नेपाललाई १० वर्ष लाग्यो । अन्तत: रोहित पौडेलको कप्तानीमा छनोट चरणका सबै बाधा पार गरेर नेपालले विगतको इतिहास दोहोर्‍याउँदै सन् २०२४ को आईसीसी टी–२० विश्वकपमा खेल्ने अवसर पाएको हो ।

कीर्तिपुरको मैदान देखि विश्वको जुनसुकै मैदान नेपाली क्रिकेट भए पनि नेपाली समर्थक त्यहाँ पुग्ने गरेका छन् । अझ विश्वकपको खेल भएकाले सन् २०१४ कै पुनरावृत्ति गर्दै सबै जना यसैमा झुम्मिने छन् । डालासको क्रिकेट मैदान मात्र होइन, घरको टेलिभिजन सेट, मोबाइल र ल्याप्टपमा बसेर हेरेर समेत समर्थन र उत्साहको सञ्चार हुनेछ ।

क्रिकेट अहिले नेपालको प्यारो खेल भइसक्यो । निरन्तरको सफलताले क्रिकेट कति लोकप्रिय भएको छ भनेर गल्ली गल्लीमा हुने चर्चाले पनि देखाउँछ । मुलुकमा चलिरहेको राजनीतिक खिँचातानी र आर्थिक अस्तव्यस्तताका बीच हुन लागेको यो प्रतियोगिताको नतिजा जे सुकै होस्, यसले नेपालीलाई पक्का खुशी दिलाउँछ ।

विश्वकपको पहिलो चरणको खेलमा नेपालले बलियो प्रतिस्पर्धीहरूसँग खेल्ने तालिका छ । त्यस अन्तर्गत नेपालले पहिलो खेलमा मंगलबार नेदरल्यान्डसको सामना गर्दैछ । डालसको ग्रान्ड प्रेरि क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले यसपटकको विश्वकपको यात्रा सुरु गर्दा ठूलो अपेक्षाको भारी पनि बोकेको हुनेछ । वरियतालाई हेर्ने हो भने टि ट्वान्टीमा नेदरल्यान्ड्स १५ औं र नेपाल १७ औं स्थानमा छ । नेपालले अघिल्लो चरणमा जाने सम्भावना बनाउन होस् वा विश्व कपलाई यादगार बनाउनका लागि होस् जितबाट यात्रा सुरु गर्न आवश्यक छ । लामो तयारी र केहि अभ्यास खेलपछि नेपाली टोली विश्व कपको सुरुवातको पर्खाइमा छ ।

यसपछि फ्लोरिडामा श्रीलंकासँग जुन ११, वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग समूह चरणका खेलहरू खेल्नेछ । नेपाल समावेश समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ सरह मानिएको छ । नेपालले श्रीलंका र दक्षिण अफ्रिकासँग भने पहिलो पटक खेल्न लागेको हो ।

१० वर्षको व्यग्र पर्खाइपछि नेपालले विश्व क्रिकेटको मञ्चमा आफूलाई पुनः उभ्याएको स्वत: ठूलो उत्कृष्ट प्रदर्शनको जिम्मेवारी समेत पाएको छ ।

काठमाडौंमा गत कात्तिकमा भएको एसिया छनोटमा नेपालले यूएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल र ओमान एसिया क्षेत्रबाट विश्वकपका लागि छानिएका हुन् । नेपालले २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा रहेर नेपालले तयारी गरिरहेको थियो । मे पहिलो साता फ्लोरिडा आएको नेपालले त्यसपछि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दुई अभ्यास खेल खेलेको थियो । त्यसपछि अमेरिकाको हुस्टनमा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो । पछिल्ला १० दिनयता नेपाली टोली डालासमा छ ।

पहिलो खेलको लागि नेपाल मानसिक र भौतिक दुबै रूपमा तयार रहेको कप्तान रोहितको भनाई छ । टी–२० खेलमा नेपालको विगतका कारण पनि टोलीसँगको अपेक्षा गर्नु मनासिब छ । मौसमले साथ दिने नदिने यकिन नभए पनि डालास भनेको बढी नेपाली बसोबास गर्ने क्षेत्र हो । सोहीकारण त्यहाँ उल्लेख्य संख्यामा नेपाली दर्शक आएर टोलीको हौसला बढाउने पक्का छ ।

खेल हो । हार र जित एकातिर होला । तर धेरै पछि नेपाली क्रिकेटको माध्यमबाट उत्साह, रोमाञ्च र खुशीको माहोल बन्ने भएको छ ।  नेपाली टोलीलाई सफलताको शुभकामना ।

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech